आखिर विद्रोह पश्चात् देशले के पायो ? फेरि चुनाव मात्रै ?

Shine news
15 days ago
648 views
0 comments
2 shares
आखिर विद्रोह पश्चात् देशले के पायो ? फेरि चुनाव मात्रै ? - Image 1

भ्रष्टाचार भयो भनेर सडक तताइयो। परिवर्तनको नारा घन्काइयो। युवाले छाती थापे, कसैले ज्यान गुमाए, कसैको शरीर आजीवन अपांग बनाइयो। आम नागरिकले सोचे—अब त केही बदलिन्छ। तर आज फर्केर हेर्दा प्रश्न उठ्छ, के साँच्चै केही बदलियो ?

नागरिक सरकारको नाममा राज्यकोषको तलब खाएका, सेवा अवधिमै छोराछोरीलाई युरोप, अमेरिका, अष्ट्रेलियाको नागरिक बनाइसकेका रिटायर्ड कर्मचारीहरू प्रधानमन्त्री र मन्त्री बने। जसले राज्य संयन्त्र चलाउँदा देशलाई यही दुर्दशामा पुर्‍याए, तिनैलाई फेरि ‘उद्धारक’ बनाइयो।

यही हो त नयाँ राजनीतिक संस्कार ?

खोइ कति जना भ्रष्टाचारमा कारबाहीमा परे ? कुन ठूला माछा जेल परे ? कुन सम्पत्ति जफत भयो ?

भ्रष्टाचारको जरामा प्रहार भयो कि केवल भाषणमै सीमित रह्यो ? खोइ कति नयाँ रोजगारी सिर्जना भए ?

कुन नौलो उद्योग खुले ? गरिबी हटाउने कुन कार्यक्रम गाउँ–बस्तीमा देखियो ? युवाले स्वदेशमै भविष्य देख्न पाउने वातावरण किन बनेन ? आज पनि उही दृश्य छ, युवा विदेशको लाइनमा, आमाबुवा आँसुमा, गाउँ रित्तो हुँदै । यदि यो सरकार परिवर्तनका लागि थियो भने, युवाको विदेश पलायन किन रोकिएन ? यदि यो आन्दोलन भ्रष्टाचारविरुद्ध थियो भने, किन भ्रष्ट मानसिकता झन् संस्थागत हुँदै गयो ? सबैभन्दा पीडादायी प्रश्न त यो छ कि, "गरिबका छोराछोरीको रगतको आहालमाथि उभिएको, रिटायर्ड कर्मचारीले भरिएको मन्त्रिपरिषद्को एउटै एजेन्डा आखिर के हो ?

संसद विघटन, जननिर्वाचित सरकार अपदस्थ गर्ने र फेरि अर्को चुनाव ?" के लोकतन्त्रको सार यही हो ?

के जनताको त्यागको मूल्य यत्ति सस्तो हो ?

के Gen Z प्रतिनिधि भन्नेहरू यही चक्र दोहोर्‍याउन आएका हुन् ? आम नागरिक आज जवाफ खोजिरहेको छन् । भावनात्मक भाषण होइन, क्रान्तिकारी नारा होइन - ठोस लोककल्याणकारी काम खोजिरहेको छ ।

रोजगारी चाहिएको छ, न्याय चाहिएको छ, विश्वास फर्किन चाहिएको छ । यदि यी प्रश्नको उत्तर छैन भने,

इतिहासले फेरि सोध्नेछ युवा किन मरे ? आन्दोलन किन भयो ? र सत्ता परिवर्तन किन गरियो ?

आज सरकार र आफूलाई Gen Z प्रतिनिधि भन्नेहरूसामु आम नागरिकको एउटै माग छ कि,

प्रश्नबाट नभाग्नुस्, जिम्मेवारीबाट नभाग्नुस् ।

किनकि यो देश अब फेरि अर्को धोका सहन सक्ने अवस्थामा छैन ।

जय नेपाल 🇳🇵

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!