बागमती अध्यक्ष कपको फाइनल भोलि:

ललितपुर, पुष १० ।
ललितपुरको बागमती गाउँपालिकामा जारी 'छैठौं बागमती अध्यक्ष कप अन्तरपालिका स्तरिय फुटबल प्रतियोगिता २०८२' को फाइनल खेल भोलि पुष ११ गते हुँदैछ। बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द रानाको सभापतित्वमा सञ्चालित यस प्रतियोगिताको उद्घाटन पुष ६ गते बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले गर्नुभएको थियो।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, र प्रमुख प्रशासकीय अधिकृत लोकहरी थापा मगर लगायत विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। भोलि हुने समापन समारोहमा पूर्व माननीय उदय शमशेर राणा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने कार्यक्रम रहेको छ।
प्रतियोगितामा बकैया र कोन्ज्योसोमबाट २–२ टोली तथा बागमती, महाकाल र गोदावरीबाट १–१ गरी कुल ७ टोलीले उत्साहजनक सहभागिता जनाएका थिए। खयरघारी खेलमैदान, प्युटारमा भोलि बिहान ११:०० बजे हुने अन्तिम भिडन्तमा उपाधिका लागि गोदावरी र बकैया बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले नगद रु २,००,००० र उपविजेताले रु १,००,००० सहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। ठूलो संख्यामा उपस्थित खेलप्रेमी दर्शकहरूले खेलको रौनक थप बढाएका छन्।