ब्रिटिस कलेजमा विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज: दर्जनौँ घाइते, अनेरास्ववियुद्वारा निन्दा

Shine news
19 days ago
527 views
0 comments
7 shares
ब्रिटिस कलेजमा विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज: दर्जनौँ घाइते, अनेरास्ववियुद्वारा निन्दा - Image 1

​– तिलक कुमाल

​काठमाडौँ । काठमाडौँको थापाथलीस्थित दि ब्रिटिस कलेज (The British College) मा विद्यार्थीको हकहितका लागि आवाज उठाउँदा प्रहरीले दमन गरेको छ। कलेजले विद्यार्थीहरूबाट चर्को शुल्क असुल गरेको र 'नन-एक्रिटेड' (मान्यता नपाएको) डिग्री पढाएर ठगी गरेको विषयमा ज्ञापनपत्र बुझाउन गएका अनेरास्ववियुका विद्यार्थी नेता तथा कार्यकर्ताहरूमाथि प्रहरीले निर्ममतापूर्वक लाठीचार्ज गरेको हो।

​ज्ञापनपत्र बुझ्न कलेज प्रशासनले इन्कार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् भने प्रदर्शनकारीहरूलाई अमानवीय ढङ्गले कुटपिट गर्दै दर्जनौँलाई नियन्त्रणमा लिएर अनामनगर प्रहरी वृत्तमा हिरासतमा राखेको छ। सो क्रममा प्रहरीले जितप्रसाद सिटौला, अञ्जली लम्साल (अम्बिका), रुद्रहरि पोखरेल, सुष्मा शाही, मौसम स्याङ्बो, दीपक रेग्मी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरे, सञ्जीव बराइली र आदित्य भण्डारी लगायतका विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।

​अनेरास्ववियुले यस घटनाको कडा भर्त्सना गरेको छ। संगठनका अनुसार शिक्षा माफियाको संरक्षण गर्न राज्य संयन्त्रले शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेको हो। "विद्यार्थीको जायज माग सम्बोधन गर्नुको साटो प्रहरी लगाएर दमन गर्नु अराजकताको पराकाष्ठा हो," संगठनले उल्लेख गरेको छ।

​अनेरास्ववियुले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, हिरासतमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई बिना सर्त तत्काल रिहा गर्न माग गरेको छ। माग पूरा नभए र दमन नरोकिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ।

Share

7

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!