चुनावअघि कांग्रेसको महाधिवेशन नहुने सभापति देउवा

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनअघि पार्टीको नियमित वा विशेष कुनै पनि महाधिवेशन नहुने स्पष्ट पार्नुभएको छ। मुलुक निर्वाचनको माहोलमा होमिसकेकाले अहिले महाधिवेशन गर्नु प्रत्युत्पादक हुने उहाँको तर्क छ।
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै देउवाले भन्नुभयो, "मुलुक चुनावमा गइसक्यो, यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ। महाधिवेशनमा पराजित हुने पक्षले चुनावमा अन्तर्घात गर्ने र पार्टीलाई हराउन लाग्ने जोखिम रहन्छ।" उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धा भन्दा आगामी चुनाव जिताउनु नै अहिलेको मुख्य प्राथमिकता रहेको बताउनुभयो।
कांग्रेसभित्र संस्थापन इतर समूहले विशेष महाधिवेशनको माग गरिरहेका बेला देउवाको यो भनाइ आएको हो। देउवाले महाधिवेशनले कार्यकर्तामा वैमनस्यता निम्त्याउने र त्यसको प्रत्यक्ष असर निर्वाचनको नतिजामा पर्ने भन्दै सबैलाई चुनाव केन्द्रित हुन निर्देशन दिनुभएको छ। सभापतिको यो अडानसँगै कांग्रेसभित्रको महाधिवेशन विवादले नयाँ मोड लिएको छ।