द ब्रिटिश कलेज' द्वारा अवैध कार्यक्रम सञ्चालन गरेको भन्दै नेविसंघको आपत्ति

काठमाडौं — काठमाडौंको थापाथलीस्थित 'द ब्रिटिश कलेज'ले हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेविसंघका कार्यवाहक अध्यक्ष सन्जिव खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा कलेजले विद्यार्थीहरूबाट अत्यधिक शुल्क असुल गरेको, एउटै कार्यक्रम अन्तर्गत फरक–फरक पाठ्यक्रम लागू गरेको र भर्ना भएका विद्यार्थीहरूको भविष्य अन्योलमा पारेको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, "विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूले लामो समयदेखि शैक्षिक कार्यक्रम, भर्ना संख्या र शुल्क संरचनामा अनियमितता गर्दै आएका छन्। यस विषयमा तत्काल छानबिन गरी कलेजलाई कारबाही गर्न नेविसंघ नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग जोडदार माग गर्दछ।"
नेविसंघले कलेज प्रशासनले समस्या समाधान गर्नुको साटो उल्टै विद्यार्थीहरूलाई धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने गरेको भन्दै यस्तो कार्य निन्दनीय भएको उल्लेख गरेको छ। पीडित विद्यार्थीहरूको शैक्षिक र प्रशासनिक समस्याहरू अविलम्ब सम्बोधन गर्न पनि संघले चेतावनी दिएको छ।