देउराली भ्यू टावर क्षेत्रमा सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न

(स्रोत: प्रकाश दिम्दुङ तामाङ, फेसबुक)
गोदावरी, ललितपुर
ललितपुरको पर्यटकीय स्थल गोदावरी नगरपालिका वडा नं. ७ स्थित देउराली भ्यू टावर परिसरमा गत बिहीबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष मथुरा शर्माको नेतृत्वमा विभिन्न निकायहरूको सामूहिक उपस्थितिमा उक्त क्षेत्रको सरसफाइ गरिएको हो।
उक्त सरसफाइ अभियानमा श्री बटुकदल गण (नेपाली सेना), टीकाभैरव प्रहरी, भिमसेन आदर्श माध्यमिक विद्यालय परिवार, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्था र स्थानीय बासिन्दाहरूको संयुक्त सहभागिता रहेको थियो। सहभागीहरूले भ्यू टावर आसपास, पदमार्ग र सार्वजनिक स्थलमा छरिएर रहेका प्लास्टिकजन्य वस्तु, बोतल र अन्य फोहोरहरू संकलन गरी उचित व्यवस्थापन गरेका छन्।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण यस स्थलको प्राकृतिक सुन्दरता जोगाउन र वातावरण स्वच्छ राख्न सबै पक्षको सक्रिय श्रमदानबाट यो कार्य सफलतापूर्वक सम्पन्न भएको छ।