गिम्दीमा कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर । नेपाली कांग्रेस गिम्दी इकाई कार्यसमितिको आयोजनामा क्रियाशील सदस्यता वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती गाउँपालिका वडा नं. ७, गिम्दीमा आयोजित उक्त कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
नेपाली कांग्रेस गिम्दी इकाई सभापति दिनेश राना मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष एवं पार्टीका गाउँ कार्यसमिति सभापति वीर बहादुर लोप्चन मुख्य अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सो अवसरमा प्रमुख अतिथि लोप्चनले नयाँ सदस्यहरूलाई क्रियाशील सदस्यता वितरण गर्दै पार्टीलाई टोल तहसम्म मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा सदस्य जय बहादुर लामाको पनि उपस्थिति रहेको थियो। स्थानीय नेता तथा युवा समाजसेवी कृष्ण बहादुर जर्गा मगरका अनुसार, कार्यक्रममा स्थानीय विकासका मुद्दा र युवाहरूलाई राजनीतिमा कसरी सक्रिय बनाउने भन्ने विषयमा गहन अन्तरक्रिया समेत भएको थियो। सहभागीहरूले 'जय नेपाल'को नाराका साथ पार्टीको अभियानलाई गाउँ-गाउँमा पुर्याउने प्रतिबद्धता जनाएका थिए।