ग्रामीण विद्युत सहकारीले रजत जयन्तीमा स्मारिका तयारी गर्दै पत्रकारसँग संवाद

ललितपुर, कहिले अन्धकारमा सीमित दक्षिण ललितपुर आज उज्यालोको इतिहास बोकेर उभिएको छ। यही यात्राको २५ वर्ष पूरा भएको अवसरमा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले पौष २१ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै आफ्नो रजत जयन्तीलाई दस्तावेजीकरण गर्ने तयारी थालेको छ।
ग्रामीण विद्युतीकरण अभियानका रूपमा २०५४ सालमा स्थापना भई २०५७ साल साउन १७ गते दर्ता भएको यो सहकारी नेपालकै पहिलो विद्युत सहकारीका रूपमा परिचित छ। महाङ्काल, कोञ्ज्योसोम र बागमती गाउँपालिका तथा गोदावरी नगरपालिका वडा नम्बर ७ सहित १९ वटा वडामा उज्यालो पुर्याउँदै सहकारीले दक्षिण ललितपुरको सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ।
रजत जयन्तीको अवसरलाई औपचारिकतामा सीमित नराखी दीर्घकालीन महत्वको बनाउने उद्देश्यले सहकारीले स्मारक प्रकाशनको तयारी गरेको छ। पत्रकारहरूसँगको छलफलमार्फत स्मारिकालाई तथ्यपरक, विश्लेषणात्मक र सन्दर्भयोग्य सामग्रीका रूपमा विकास गर्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ।
कार्यक्रममा सहकारीका अध्यक्ष गोविन्द प्रसाद बजगाईंले दक्षिण ललितपुरको करिब दुईतिहाइ भूभाग समेट्ने विद्युतीकरण अभियान आफैंमा ऐतिहासिक भएको उल्लेख गर्नुभयो। “यो स्मारिका केवल सहकारीको कथा होइन, दक्षिण ललितपुरको विकास यात्राको दस्तावेज हुनेछ,” उहाँले भन्नुभयो।
सहकारीका सचिव लोकबहादुर पुलामी (दीपक)ले पत्रकार भेटघाटको उद्देश्य स्पष्ट पार्दै आगामी चैत महिनाभित्र स्मारिका प्रकाशन गर्ने र डिजिटल संस्करणसमेत सार्वजनिक गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्मारिकाले विगतदेखि वर्तमानसम्मको विद्युतीकरण अवस्था र आगामी सम्भावनालाई समेट्नेछ।
छलफलमा सहभागी पत्रकारहरूले विद्युतीकरणले ल्याएको परिवर्तन, उपलब्धि र चुनौतीलाई तथ्य र तथ्यांकसहित प्रस्तुत गर्न सुझाव दिएका थिए। उज्यालोसँगै बढ्दो बसाइँसराइ, सेवा व्यवस्थापन र दिगोपनाका सवाललाई पनि स्मारिकामा समेट्नुपर्नेमा उनीहरूको जोड थियो।
अध्यक्ष बजगाईंले विद्युतीकरणपछि देखिएका नयाँ सामाजिक यथार्थतर्फ संकेत गर्दै उज्यालो मात्र होइन, त्यसको प्रभावकारी व्यवस्थापन नै अबको चुनौती भएको उल्लेख गर्नुभयो। उज्यालो पुगेपछि खाली हुन थालेका घरहरूको उदाहरण प्रस्तुत गर्दै उहाँले सहकारीले अब विकास र बसोबासलाई जोड्ने भूमिकामा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
रजत जयन्तीको अवसरमा प्रकाशन हुने स्मारिकाले दक्षिण ललितपुरमा विद्युतीकरणले खेलेको भूमिकालाई अभिलेखीकरण गर्दै भावी नीति निर्माण, अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
