लोकतान्त्रिक नेताको लोकतान्त्रिक आचरण, जवाफदेहिता र जिम्मेवारी

-एन.पी. जोशी
लोकतन्त्र केवल शासन प्रणाली मात्र होइन, यो संस्कार र आचरणको समष्टि हो । लोकतान्त्रिक प्रणाली सफल हुन नेतृत्व स्वयं लोकतान्त्रिक मूल्य, मान्यता र व्यवहारप्रति प्रतिबद्ध हुनु अपरिहार्य हुन्छ । लोकतान्त्रिक नेता त्यो हो, जसले सत्ता होइन - जनताको भरोसालाई आफ्नो सबैभन्दा ठूलो पूँजी ठान्छ ।
लोकतान्त्रिक नेताको पहिलो पहिचान उसको आचरण हो । विचारमा लोकतन्त्रको पक्षधर भएर व्यवहारमा निरंकुश हुनु लोकतन्त्रकै अपमान हो । फरक मतको सम्मान, आलोचनालाई सहज रूपमा स्वीकार गर्ने क्षमता, बहस र संवादलाई प्राथमिकता दिने संस्कार नै लोकतान्त्रिक आचरणको मेरुदण्ड हो । शक्ति प्रयोगभन्दा पनि सहमतिमार्फत निर्णय गर्ने अभ्यासले नै नेताको लोकतान्त्रिक परिपक्वता देखाउँछ ।
त्यसैगरी, लोकतन्त्रमा नेता कामकारबाहीप्रति जवाफदेही हुनैपर्छ । जनताबाट प्राप्त अधिकारको प्रयोग कसरी गरियो भन्ने प्रश्नको उत्तर दिनु नेताको कर्तव्य हो । नीति निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम नगरे लोकतन्त्र खोक्रो नारा मात्र बन्छ । संसद्, पार्टी संरचना, सञ्चारमाध्यम र नागरिक समाजसमक्ष जवाफ दिन डराउने नेतृत्व लोकतान्त्रिक कहलिन सक्दैन ।
जिम्मेवारी लोकतान्त्रिक नेताको अर्को अनिवार्य गुण हो । निर्णयको श्रेय मात्र होइन, असफलताको जिम्मा पनि लिने साहस नै जिम्मेवार नेतृत्व हो । गल्ती स्वीकार्ने संस्कार कमजोर होइन, बरु लोकतान्त्रिक बलको प्रतीक हो । संस्थागत निर्णयलाई व्यक्तिगत चाहनाभन्दा माथि राख्नु, नियम र प्रक्रियाको सम्मान गर्नु जिम्मेवार नेताको पहिचान हो ।
आज लोकतन्त्र चुनौतीको चरणमा छ । लोकतन्त्रलाई बलियो बनाउने कि कमजोर - यो अन्ततः नेतृत्वको आचरण, जवाफदेहिता र जिम्मेवारीमा निर्भर गर्दछ । लोकतान्त्रिक दलको नेता पुर्व-गृहमन्त्री Ramesh Lekhak ज्युले जाँचबुझ आयोगसमक्ष स्पष्ट कुरा राख्ने निर्णले पुर्ण लोकतान्त्रिक आचरण देखाउनु भएकोमा नेपाली कांग्रेसको कार्यकर्ताको रुपमा गर्व गरेको छु ।
जय नेपाल !