नेपाल वायुसेवा निगमद्वारा नेपालगञ्ज बेस गरी नयाँ उडान तालिका सार्वजनिक

स्रोत बल राज हमालको फेसबुक
नेपालगञ्ज, ११ पुस (२०८२) ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालगञ्ज स्टेशनलाई आधार बनाएर पश्चिम नेपालका विभिन्न दुर्गम पहाडी तथा हिमाली जिल्लाहरूका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ। निगमले यात्रुहरूको सुविधा र सहजतालाई मध्यनजर गर्दै साताको पाँच दिन विभिन्न गन्तव्यहरूमा उडान भर्ने गरी तालिका ल्याएको हो।
नयाँ तालिका अनुसार निगमले आइतबार, सोमबार, मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। यसले सडक मार्गको लामो र झन्झटिलो यात्रा गर्न बाध्य यात्रुहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
यस्तो छ उडान तालिका:
- आइतबार: नेपालगञ्ज–बाजुरा र नेपालगञ्ज–जुम्ला–सुर्खेत–जुम्ला–नेपालगञ्ज।
- सोमबार: नेपालगञ्ज–सिमीकोट–सुर्खेत–सिमीकोट–नेपालगञ्ज, नेपालगञ्ज–ताल्चा र नेपालगञ्ज–जुम्ला।
- मंगलबार: नेपालगञ्ज–सिमीकोट, नेपालगञ्ज–डोल्पा र नेपालगञ्ज–रुकुम–काठमाडौं।
- बिहीबार: नेपालगञ्ज–बाजुरा र नेपालगञ्ज–जुम्ला।
- शुक्रबार: नेपालगञ्ज–बाजुरा, नेपालगञ्ज–ताल्चा, नेपालगञ्ज–डोल्पा र नेपालगञ्ज–रुकुम–काठमाडौं।
विभिन्न लक्षित वर्गलाई सहुलियत र छुट
निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वर्गका नागरिकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ:
१. ज्येष्ठ नागरिक: ५० प्रतिशत छुट।
२. विशेष क्षमता भएका नागरिक (क र ख वर्ग): ५० प्रतिशत छुट।
३. बालबालिका (१२ वर्ष मुनिका) र विद्यार्थी: २५ प्रतिशत छुट।
टिकट बुकिङ कहाँ गर्ने?
यात्रुहरूले आफ्नो सिट सुरक्षित गर्न निगमको आधिकारिक वेबसाइट www.nepalairlines.com.np वा ई-सेवा (eSewa) को 'Popular Service' भित्र रहेको नेपाल एयरलाइन्स डोमेस्टिक एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। साथै, नेपालगञ्जको धम्बोझीस्थित सेल्स अफिस र नेपालगञ्ज विमानस्थल कार्यालयबाट पनि टिकट लिन सकिने निगमले जनाएको छ।
थप जानकारीका लागि यात्रुहरूले निगमको सम्पर्क नम्बरहरू ९८५८०४१५०६, ०८१-५६५०५७, ०८१-४१५१७९, र ०८१-४१५०६७ मा सम्पर्क गर्न सक्नेछन्।