नेविसंघ ललितपुरद्वारा मिर्गौला पीडित अमर लामाका लागि आर्थिक संकलन अभियान सुरु

ललितपुर, ११ मंसिर ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य अमर लामाको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।
लामो समयदेखि सामाजिक सेवा र पार्टी संगठनमा सक्रिय लामा हाल दुवै मिर्गौला फेल भएर गम्भीर अवस्थामा हुनुहुन्छ । हाल उहाँको नियमित डायलाइसिस भइरहेको छ भने चिकित्सकले आगामी दिनमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् । उपचार अत्यन्त खर्चिलो भएको र लामाको आर्थिक अवस्था कमजोर रहेकाले नेविसंघले यो मानवीय पहल सुरु गरेको हो ।
नेविसंघ ललितपुरका अध्यक्ष सरोज घोरसाईनेले एक अपील जारी गर्दै कठिन घडीमा मानवीय संवेदना र आपसी सहयोगको भावना प्रदर्शन गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । संघले लामाको जीवन बचाउन इच्छुक महानुभाव, शुभेच्छुक र नेता-कार्यकर्ताहरूलाई आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिदिन विनम्र अनुरोध गरेको छ ।
सहयोगका लागि नेविसंघ ललितपुरका अध्यक्ष सरोज घोरसाईने (९८६८८४४४७०), उपाध्यक्ष निराजन घिमिरे (९८४९९३५३१३) र सचिव हरिहर थापा (९८५१२४०३९०) सँग सम्पर्क गर्न सकिने संघले जनाएको छ ।