प्युटारमा 'तेस्रो वडा अध्यक्ष कप' फुटबल प्रतियोगिता हुने

ललितपुर, १८ पुस । ललितपुरको बागमती गाउँपालिका वडा नं. ४, प्युटारमा आगामी माघ महिनामा 'तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२' आयोजना हुने भएको छ। २८६२औँ सोनाम ल्होसारको पावन अवसरमा वडा कार्यालयले यस भव्य खेलकुद कार्यक्रमको तयारी गरेको हो।
वडा अध्यक्ष रामकुमार लामाका अनुसार स्थानीय युवाहरूको खेल प्रतिभालाई प्रोत्साहन गर्न र वडामा खेलकुदको माहोल सिर्जना गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता आगामी माघ २, ३ र ४ गते प्युटार खेल मैदान (खयरघारी) मा सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोलकिपर र अनुशासित टिमका लागि पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
इच्छुक टिमहरूले ५ हजार रुपैयाँ दर्ता शुल्कसहित पुस २८ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ। खेलहरू दैनिक दिउँसो १:०० बजेबाट सुरु हुनेछन्। स्थानीय तहमा खेलकुदको विकास र सांस्कृतिक पर्वको उपलक्ष्यमा हुन लागेको यो प्रतियोगितालाई प्युटारबासीले निकै उत्साहका साथ हेरेका छन्।