राष्ट्रिय प्रतियोगीताको ४ दशक लामो ईतिहास

प्रथम राष्ट्रिय खेलकुद, २०३८
२०३८ साल भदौ २७ गते नेपाली खेलकुदको इतिहासका लागि स्वर्णीम दिन रह्यो । यही दिन काठमाडौबाट प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भयो । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता असोज ४ देखि १३ सम्म (९ दिन) दशरथ रंगशालामा सञ्चालन भयो । प्रथम राष्ट्रिय खेलकुदमा ७८ स्वर्ण, ७६ रजत र ७२ कांस्य गरी कुल २ सय २६ पदकका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा १४ अञ्चलका १२ सय २० पुरुष र २ सय २३ महिला खेलाडीको सहभागिता थियो ।
प्रथम राष्ट्रिय खेलकुद १६ खेलमा १४ अञ्चलको सहभागिता रहँदा वाग्मतीले पहिलो स्थान हासिल गरेको थियो । वाग्मतीले ४४ स्वर्ण, ३३ रजत र २५ कांस्य गरी १ सय २ पदक जितेको थियो । ८ स्वर्ण, ७ रजत र ९ कांस्य गरी २४ पदक जितेको गण्डकी उपविजेता भएको थियो भने ६ स्वर्ण, १३ रजत र ६ कांस्यसहित २५ पदक जितेको कोसीले तेस्रो स्थान हासिल गरेको थियो । ५ स्वर्ण, ४ रजत र ८ कांस्यसहित १७ पदक जितेको नारायणीले चौथो स्थान हासिल गर्दा ३ स्वर्ण, १ रजत र २ कांस्य गरी ६ पदक जितेको जनकपुर पाँचौं भएको थियो । ३ स्वर्ण र ७ कांस्य पदक जितेको सेती छैटौं तथा २ स्वर्ण, ६ रजत र ३ कांस्य जितेको भेरी सातौं भए । धौलागिरिले २ स्वर्ण, २ रजत र १ कांस्य पदका जित्दै आठौं स्थान हासिल गर्दा २ स्वर्ण र २ रजत जितेको महाकाली नवौं भयो । २ स्वर्ण र २ कांस्य जितेको लुम्बिनी दसौं हुँदा १ स्वर्ण, २ रजत र ५ कांस्य जितेको सगरमाथाले ११औं स्थान हासिल गर्यो । १२ औं भएको मेचीले ६ रजत र ३ कांस्य पदकमात्र जित्यो भने २ कांस्यमा सीमित राप्ती १३औं स्थानमा रह्यो ।पुछारको कर्णालीले कुनै पदक जित्न सकेन ।पहिलो राष्ट्रिय प्रतियोगीता देखी १०औ राष्ट्रिय प्रतियोगीता सम्म आँउदा कर्णालीका खेलाडिले कहिले पनी न्याय नपाएकै देखीयो।
कर्णालीका लागि सहभागितामै सीमित भएको राष्ट्रिय खेलकुदले गण्डकीलाई उत्कृष्ट खेल प्रदर्शनको पुरस्कार गुथायो । धौलागिरि अनुशासित टोलीका रूपमा दर्ता भयो भने उत्कृष्ट मार्चपासको पुरस्कार पनि गण्डकीले नै हासिल गर्यो । एउटै पदक जित्न नसकेको कर्णालीले सान्त्वनास्वरुप उत्कृष्ट पोसाकको पुरस्कार पाएको थियो ।
प्रतियोगितामा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, भलिबल, बाघचाल, बुद्धिचाल, कबड्डी, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, तारो हान्ने, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन र पौडी समावेश थिए ।
दोश्रो राष्ट्रिय खेलकुद, २०४०
प्रत्येक दुई वर्षमा गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० सालमा पोखरामा सम्पन्न भयो । २०४० चैत्र १२ गते पोखरा स्पोर्ट्स कम्प्लेक्समा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको प्रतियोगिता ९ दिनसम्म चल्यो । दोस्रो संस्करणमा तीन खेल बढाएर १९ पुर्याइएको खेल महोत्सवमा १ सय १९ स्वर्ण, १ सय १९ रजत र १ सय ३२ कांस्य गरी कुल ३ सय ७० पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
वाग्मती दोस्रो राष्ट्रियमा पनि आफ्नो वर्चस्व कायम राख्दै च्याम्पियन बन्यो । टोलीले ५० स्वर्ण, ३३ रजत र २५ कांस्यसहित १ सय ८ पदक जितेको थियो । दोस्रोमा पनि गण्डकी उपविजेता भयो । आयोजक टोलीले २१ स्वर्ण, ७ रजत र ९ कांस्य जित्यो । तेस्रो भएको कोसीले १८ स्वर्ण, १३ रजत र ६ कांस्य जितेको थियो भने भेरी ७ स्वर्ण, ४ रजत र २ कांस्यसाथ चौथो भयो । ५ स्वर्ण, १० रजत र १३ कांस्य जितेको नारायणी पाँचौं हुँदा ५ स्वर्ण, ७ रजत र ७ कांस्य जित्दै मेची छैटौं भयो । ५ स्वर्ण र ६ कांस्य जितेको धौलागिरि सातौं हुँदा ४ स्वर्ण, ५ रजत र ६ कांस्य जितेको सगरमाथाले आठौं स्थान हासिल गयो । यसैगरी २ स्वर्ण, ४ रजत र ७ कांस्य जितेको जनकपुर नवौं तथा १ स्वर्ण ५ रजत र ८ कांस्य जितेको लुम्बिनी १०औं भयो । १ स्वर्ण, १ रजत र २ कांस्य जितेको महाकाली ११औं हुदा ३ रजत र ३ कांस्य जितेको सेती १२औं, १ रजतमा सीमित राप्ती १३औं भए । कर्णालीले दोस्रो संस्करणमा पनि पुछारमै चित्त बुझायो, तर यो पटक एक कांस्य जित्नु टोलीको ठूलो सफलता थियो । सेती अञ्चल अनुशासित टोली ठहरियो भने उत्कृष्ट पोसाकको पुरस्कार मेची तथा मार्चपासतर्फ गण्डकी पुरस्कृत भए ।
दोस्रो राष्ट्रिय खेलकुदमा कबड्डी र तारो हान्ने खेल हटाइँदा मार्सल आर्टस, टेनिस र सुटिङ थप गरियो । साथमा यही संस्करणदेखि दोहोरी गीत र लोक नृत्यलाई पनि खेलका रूपमा समावेश गरिएको थियो । दोस्रो संस्करणमा फुटबल र भलिबलमा महिला प्रतिस्पर्धा पनि सुरु गरियो ।
तेस्रो राष्ट्रिय खेलकुद, २०४२
राष्ट्रिय खेलकुदले तेस्रो संस्करणसम्म प्रत्येक दुई वर्षमा निरन्तरता पाइरह्यो । ०४२ मा वीरगन्जले तेस्रो राष्ट्रिय खेलकुद आयोजना गर्यो । वीरगन्ज रंगशालामा तत्कालीन राजा वीरेन्द्रले फागुन २३ मा उद्घाटन गरेको प्रतियोगितामा केही खेल थपियो । अघिल्लो पटक १९ खेल समावेश गरिएका हक्की र कबड्डी थपेर खेलसंख्या २१ पुर्याइयो । यही संस्करणदेखि ह्यान्डबल, सुटिङ र कबड्डीको महिला स्पर्धा पनि थप गरिएको थियो ।
१ सय ४६ स्वर्ण, १ सय ४७ रजत र १ सय ८१ कांस्य गरी कुल ४ सय ७४ पदकका लागि १४ अञ्चलका २ हजार ३७ पुरुष र ७ सय ३८ खेलाडीले प्रतिस्पर्धा गरेको यो खेल महोत्सवमा पनि वाग्मती अञ्चल नै च्याम्पियन भयो । वाग्मतीले लगातार तेस्रोपल्ट टिम टिम च्याम्पियन ट्रफी उचाल्यो । अघिल्ला दुई संस्करणमा उपविजेता बनेको गण्डकी छैटौं स्थानमा झर्दा १८ स्वर्ण, २८ रजत र २७ कांस्य जितेको कोसी पहिलो पटक राष्ट्रिय खेलकुदको उपविजेता बन्यो । नारायणीले पनि १३ स्वर्ण, २२ रजत र २९ कांस्य जितेर तेस्रो स्थानमा फड्को मार्यो । भेरीले १० स्वर्ण, ५ रजत र १० कांस्य जितेर चौथो स्थान हासिल गर्दा ८ स्वर्ण तथा ७ कांस्य जितेर सगरमाथा छैटौं भए ।गण्डकीले ७ स्वर्ण, २४ रजत र २६ कांस्य जितेको थियो । लुम्बिनीले ६ स्वर्ण, ८ रजत र १० कांस्य पदक जितेर सातौं स्थान हासिल गर्दा सेती ५ स्वर्ण, १० रजत र ६ कांस्यका साथ आठौं भयो । ४ स्वर्ण, ९ रजत र ११ कांस्यसाथ मेची नवौं हुँदा समान ३ स्वर्ण, २ रजत र ३ कांस्य जितेका राप्ती र धौलागिरिले क्रमशः १० र ११औं स्थान हासिल गरे । जनकपुरले २ स्वर्ण ५ रजत र ६ कांस्य पदक जितेर १२औं स्थान हासिल गर्दा १ स्वर्ण र २ कांस्य जितेको महाकाली १३औं तथा १ कांस्यमै सीमित कर्णाली १४औं भए । यो पटक मेची उत्कृष्ट टिम ठहरियो भने गण्डकीले उत्कृष्ट पोसाक तथा मार्चपासको पुरस्कार पायो ।
चौथो राष्ट्रिय खेलकुद, २०५५
लगातार तीन संस्करणको आयोजनापछि राष्ट्रिय खेलकुदले नियमित गति कायम राख्न सकेन । देशको राजनीतिक परिवर्तनलाई समेत अनुभूत गरेको समयमा राष्ट्रिय खेलकुदको चौथो संस्करण हुन १३ वर्ष कुर्नुपर्यो । लामो समय रोकिएको राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो महोत्सव आयोजनाको आँट १३ वर्षपछि नेपालगन्जले देखायो । २०४२ पछि २०५५ सालमा मात्र सम्भव भएको राष्ट्रिय खेलकुदको चौथो संस्करण चैत ८ गते तत्कालीन युवराज दीपेन्द्र शाहले गरेका थिए ।
सात दिन चलेको राष्ट्रिय खेलकुदमा अघिल्ला संस्करणहरूमा झै खेलसंख्या बढाउनुको साटो घटाएर १२ मा झारियो । १२ खेलमात्र समावेश गर्नुमा नेपालले नै आयोजना गर्न लागेको आठौं साफ खेलकुद (१९९९) मा भएका खेल मात्र राखिएको प्रष्टीकरण दिइयो । यसपल्टदेखि राष्ट्रिय खेलकुदको संरचना पनि परिवर्तन गर्ने क्रममा १४ अञ्चलको साटो पाँच विकास क्षेत्र र दुई विभागीय टोली तत्कालीन शाही नेपाली सेना र नेपाल प्रहरीलाई सहभागी गराइयो । मध्यपश्चिमले पहिलो पटक आयोजना गरेको राष्ट्रिय खेलकुदमा स्वर्ण १ सय ४०, रजत १ सय ४० र कांस्य १ सय ८९ गरी कुल ४ सय ६९ पदकका लागि ७ टोलीका महिला र पुरुषसहित कुल १ हजार ६ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
मध्यपश्चिमाञ्चल अनुशासित टोलीको रूपमा घोषित हुँदा सेनाले उत्कृष्ट मार्चपासको पुरस्कार पायो । पौडीमा ९ स्वर्ण पदक जितेरनयना शाक्यले अनुपम कीर्तिमान बनाइन् भने पुलिसकी देवीमाया पनेरुले १०० र २०० मिटर दौड तथा रामकृष्ण चौधरीले १०० मिटरदौडमा राष्ट्रिय कीर्तिमान बनाए । मध्यमाञ्चलका कराते खेलाडी रवि महर्जन पुरुष तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा उत्कृष्टखेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्रिगत रूपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो । |
मध्यमाञ्चलले ४९ स्वर्ण, ३१ रजत र ३२ कांस्य जित्दै टिम च्याम्पियनसिप जित्दा सेनाको टोली २९ स्वर्ण, ३८ रजत र २१ कांस्यसाथ उपविजेता बन्यो । पुलिसले २५ स्वर्ण, १४ रजत र २० कांस्य जितेर तेस्रो स्थान हासिल गर्यो भने पश्चिमाञ्चल १३ स्वर्ण, १८ रजत र २१ कांस्यसाथ चौथो भयो । पूर्वाञ्चलले १२ स्वर्ण २७ रजत र ३९ कांस्य जितेर पाँचौं स्थान हासिल गर्दा आयोजक मध्यपश्चिम ७ स्वर्ण, १५ रजत र ३२ कांस्यका साथ छैटौं भयो । ५ स्वर्ण, ७ रजत र २४ कांस्यमा सीमित सुदूरपश्चिम पुछारमा रह्यो ।
मध्यपश्चिमाञ्चल अनुशासित टोलीको रूपमा घोषित हुँदा सेनाले उत्कृष्ट मार्चपासको पुरस्कार पायो । पौडीमा ९ स्वर्ण पदक जितेर नयना शाक्यले अनुपम कीर्तिमान बनाइन् भने पुलिसकी देवीमाया पनेरुले १०० र २०० मिटर दौड तथा रामकृष्ण चौधरीले १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाए । मध्यमाञ्चलका कराते खेलाडी रवि महर्जन पुरुष तथा मध्यपश्चिमकी तेजु गुरुङ महिलामा उत्कृष्ट खेलाडी चुनिए । राष्ट्रिय खेलकुदमा यसरी व्यक्रिगत रूपमा उत्कृष्ट घोषणा गरिएको यो पहिलो पटक थियो ।
नेपालगन्ज राष्ट्रिय खेलकुदको आयोजक भए पनि पौडी ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा गराइयो भने भलिबल पनि सुर्खेतमा खेलाइएको थियो । समावेश खेलमा फुटबल, एथलेटिक्स, कराते, भलिबल, टेबलटेनिस, भारोत्तोलन, बक्सिङ, पौडी, सुटिङ, तेक्वान्दो, कुस्ती र कबड्डी थिए ।
पाँचौं राष्ट्रिय खेलकुद, २०६५
राष्ट्रिय खेलकुदको इतिहासमा सबैभन्दा बढी विवाद र उतारचढाव बेहोरेको पाँचौं राष्ट्रिय खेलकुदका लागि चौथो संस्करण सम्पन्न भएपछि नेपाली खेलकुदले १० वर्ष कुर्नुपर्यो । नेपालगन्जमा प्रतियोगिता सम्पन्न भएको तीन वर्षपछि तत्कालीन राखेपले पाँचौं संस्करण आयोजनाका लागि काठमाडौंमै प्रयास थालेको थियो । चौथो संस्करणको समापनको अवसरमा अबको पालो सुदूरपश्चिमको भन्दै झण्डा हस्तान्तरण गरिए पनि राखेपले भौतिक पूर्वाधार अभावको बहानामा काठमाडौंमै पाँचौं राष्ट्रिय खेलकुद गर्ने निर्णय लिएको थियो । सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा पाँचौं राष्ट्रिय हुने घोषणा गरिएको थियो ।
सुदूरपश्चिममा भौतिक पूर्वाधार नभएको बहानामा काठमाडौं सारिएको पाँचौं संस्करणका लागि राखेपले २०५८ वैशाख २७ देखि जेठ २१ सम्मको तिथि तय गरेको थियो । यसअघि नै २०५७ मा सुदूरपश्चिममा राष्ट्रिय खेलकुद गर्ने घोषणा भइसकेको पाँचौं राष्ट्रिय खेलकुदका लागि तय गरिएको यो दोस्रो मिति थियो । तर यो मितिमा पनि प्रतियोगिता हुन सकेन । सरकारले बजेट उपलब्ध नगराएको कारण देखाई राखेपले फेरि २०५८ जेठ ७ देखि १४ गते सम्मका लागि भनेर तेस्रो पटक मिति परिवर्तन गर्यो । पुनः समय अभाव र आर्थिक समस्याका कारण मिति जेठ १४ देखि २० सम्मका लागि सारियो, त्यो मितिमा पनि हुन नसकेपछि अन्ततः जेठ २१ देखि २६ सम्म गर्ने अर्को निर्णय लिइयो । यसका लागि आयोजनाको सबै तयारी पूरा भएर पनि पाँचौं राष्ट्रिय खेलकुद २०५८ सालमा हुन सकेन ।
राष्ट्रिय खेलकुद हुनेभन्दा दुई दिनअघि मध्यरातमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डका कारण पाँचौं राष्ट्रिय खेलकुद अनिश्चितकालका लागि स्थगित गरीयो । सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रिय खेलकुदमा कुल ७ सय ४१ पदकका लागि सात टोलीका १ हजार ४ सय २५ खेलाडीको सहभागिता हुने तय थियो ।
त्यसपछि सरकार परिवर्तन तथा विभिन्न कारणले हुन नसकेको पाँचौं राष्ट्रिय खेलकुद हुन गणतन्त्र स्थापना नभएसम्म कुर्नुपर्यो । २०६५ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदको गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले चैत २४ गते दशरथ रंगशालामा उद्घाटन गरेका थिए ।
यसपालि खेलसंख्या बढाएर ३२ पुर्याइयो भने सहभागी टोली पनि बढे । सशस्त्र प्रहरी बलको एपिएफ क्लब स्थापना भइसकेको कारण यसले स्वतः विभागीय टोलीको हैसियत पायो भने शान्तिपूर्ण राजनीतिमा ओर्लिएको नेकपा माओवादीको सेनालाई पनि विवादास्पद रूपमा विभागीय टोलीको हैसियतमा समावेश गराइयो । राखेपका संरक्षक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा राखेपले उद्घाटन भइसकेपछि माओवादी सेनाको टोलीलाई समावेश गराउँदा नेपाली सेनाले माओवादी खेलेका इभेन्ट बहिष्कार गरेको थियो ।
नेपाल सरकारले २५ करोड रुपैयाँ उपलब्ध गराएको एक हप्ते राष्ट्रिय खेलकुदमा ९ टोलीबाट कुल ३ हजार २ सय ८० खेलाडी सहभागी भए । माओवादी सेनाका तर्फबाट राष्ट्रिय खेलकुदमा १ सय २८ खेलाडीले भाग लिएका थिए । माओवादी सेनाले एथलेटिक्स, भलिबल (पुरुष÷महिला), फुटबल (पुरुष÷महिला), कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ६ खेलमा सहभागिता जनाएको थियो ।
मध्यमाञ्चलले ६९ स्वर्ण, ३२ रजत र ३६ कांस्य जित्दै टिम च्याम्पियनसिपको उपाधि रक्षा गरेको पाँचांै राष्ट्रिय खेलकुदमा एपिएफ ३२ स्वर्ण, १७ रजत र १७ कांस्य जित्दै उपविजेता भयो । नेपाल प्रहरी २६ स्वर्ण, ३९ रजत र २३ कांस्यका साथ तेस्रो, पश्चिमाञ्चल २० स्वर्ण, २३ रजत र ४० कांस्यका साथ चौथो, पूर्वाञ्चल १४ स्वर्ण, २५ रजत र ५४ कांस्यका साथ पाँचौं तथा मध्यपश्चिमाञ्चल ९ स्वर्ण, २३ रजत र ४८ कांस्यका साथ छैटौं भए । सुदूरपश्चिमाञ्चल ८ स्वर्ण, १८ रजत र ३९ कांस्यका साथ सातौं हुँदा नेपाली सेना ९ स्वर्ण, ७ रजत र १२ कांस्यका साथ आठौं स्थानमा रहे । राष्ट्रिय राजनीतिलाई नै तरंगित पार्नेगरी विवादास्पद रूपमा सहभागिता जनाएको माओवादी सेना १ रजत र ५ कांस्यमा सीमित हुँदै पुछारमा रह्यो ।
ओलम्पियन पौडीवाज करिश्मा कार्की १२ स्वर्ण पदक जित्दै चर्चाको शिखरमा रहिन् । उनले भाग लिएका सबै इभेन्टमा स्वर्ण पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुदमा भाग लिएका सबै इभेन्टमा स्वर्ण पदक जित्ने उनी एकमात्र खेलाडी थिइन् । यसअघि चौथो राष्ट्रिय खेलकुदमा पौडीकै नयना शाक्यले ९ स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी थिइन् । एथलेटिक्सकी केशरी चौधरीले पाँच स्वर्ण जितिन भने ब्याडमिन्टनकी पूजा श्रेष्ठ, जिम्न्यास्टिककी सुजना प्रजापति, पौडीका पुष्पराज शाही तथा एथलेटिक्सका सन्तोष श्रेष्ठ र बालकृष्ण चौधरीले समान ४–४ स्वर्ण पदक जितेका थिए । पाँचौं राष्ट्रिय खेलकुदमा सात खेलाडीले तीन स्वर्ण पदक जिते । त्यसमा सफ्ट टेनिसकी नीरा कायस्थ, जिम्न्यास्टिकका अमन तामाङ, एथलेटिक्सका सूर्यमाया तामाङ, सुमन भट्टराई, प्रमिला रिजाल तथा पौडीका शैलेश राणा र चन्द्रसिंह महतो थिए । राष्ट्रिय खेलकुदमा १२ खेलाडीले ५ खेलमा विभिन्न १३ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
पाँचौं राष्ट्रिय खेलकुदमा २१ खेलमा जिल्ला हुँदै क्षेत्रीय छनोटमार्फत प्रतिस्पर्धा गराइएको थियो भने १३ खेलमा सोझै सहभागी गराइएको थियो । क्षेत्रगत छनोट गरिएका खेलमा एथलेटिक्स, बक्सिङ (पुरुष), फुटबल, तेक्वान्दो, कराते, भलिबल, टेबलटेनिस, कबड्डी, भारोत्तोलन (पुरुष), कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल, खोखो, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराते र हक्की थिए । गल्फ, विलियार्ड तथा स्नुकर, सुटिङ, आर्चरी, स्क्वास, सफ्ट टेनिस, लनटेनिस, क्रिकेट, जिम्न्यास्टिक, साइक्लिङ, पौडी, बक्सिङ (महिला) र भारोत्तोलन (महिला) लाई सोझै राष्ट्रिय खेलकुदमा सहभागी गराइएको थियो ।
सोझै खेल्नेमध्ये पनि मध्यमाञ्चल नै पहिलो भयो । मध्यमाञ्चलले सोझै खेल्नेमा ५२ स्वर्ण, ४४ रजत र ५३ कांस्य जित्यो भने दोस्रो हुने एपिएफले १२ स्वर्ण, ७ रजत र ६ कांस्यमा सफलता पायो । नेपाल पुलिस ११ स्वर्ण र २ कांस्यसाथ तेस्रो हुँदा नेपाली सेनाले ९ स्वर्ण, १० रजत र १० कांस्य पदा जितेर चौथो स्थान पक्का गर्यो । पश्चिमाञ्च्लले ६ स्वर्ण, ९ रजत र १६ कांस्य पदक जितेर पाँचौं स्थान हासिल गर्दा सुदूरपश्चिम ३ स्वर्ण, ९ रजत र ७ कांस्यका साथ छैटौं, पूर्वाञ्चल १ स्वर्ण, १० रजत र ७ कांस्यसाथ सातौं, मध्यपश्चिमाञ्चल ५ रजत र ९ कांस्यसाथ आठौं भए । माओवादी सेनाको टोली खुलातर्फका १३ खेलमा एउटै पदक जित्न सफल भएन ।
छैटौं राष्ट्रिय खेलकुद, २०६८अन्ततः इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद सुदूरपश्चिममा भयो । पाँचौं संस्करण सम्पन्न भएको तीन वर्षमै छैटौं राष्ट्रिय खेलकुद सुदूरपश्चिमको धनगढी रंगशालामा २०६८ साल फागुन १४ मा सुरु भयो ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुनर्निर्माण चलिरहेको धनगढी रंगशालामा भव्य समारोहबीच छैटौं राष्ट्रिय खेलकुदको उदघाट्न गरे । छैटौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश थिए । धनगढीलाई केन्द्र बनाएर आयोजित बृहत राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न खेलका प्रतियोगिता महेन्द्रनगर र अत्तरियालगायत क्षेत्रमा पनि गरिएका थिए ।
अघिल्ला संस्करणमा जस्तै पाँच विकास क्षेत्रको सहभागिता निरन्तर रह्यो । राष्ट्रिय खेलकुद परिषदमा माओवादीको नेतृत्व थियो । विभागीय टोलीको हैसियतमा माओवादी सेनाको टोलीलाई औपचारिक रूपमा सहभागी गराइँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले छैटौं राष्ट्रिय खेलकुद पूर्ण रूपमा बहिष्कार गर्यो । अघिल्लो संस्करणमा उद्घाटन भइसकेपछि विवादास्पद रूपमा केही खेलमा माओवादी सेनालाई भाग लिन दिएपछि सेनाले माओवादी खेलेका विधामात्र बहिष्कार गरेको थियो । विश्वविद्यालय खेलकुद संघले पहिलो पटक विभागीय टोलीका रूपमा सहभागिता जनाएको थियो ।
सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुदका लागि ९ टिमका २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला गरी कुल ३ हजार ६ सय १९ खेलाडीले ३ सय ५ स्वर्ण, ३ सय ५ रजत र ४ सय ५२ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यसैगरी १ हजार १ सय ७७ निर्णायक, सयौंको संख्यामा खेल पदाधिकारी सुदूरपश्चिम पुग्दा सुविधासम्पन्न होटलको अभावका कारण बसोबासको ठूलो समस्या भएको थियो ।
खेलकुद परिषदमा माओवादीको तर्फबाट नियुक्त गरिएका तत्कालीन सदस्यसचिव युवराज लामाको नेतृत्व थियो । यसैगरी सुदूरपश्चिमको क्षेत्रीय खेलकुद विकास समितिमा पनि माओवादीकै तर्फबाट अध्यक्षको नियुक्ति पाएका दीपक साउद नेतृत्वमा थिए । देशको राजनीतिक माहोल अत्यन्तै अस्थिर थियो । त्यही कारण छैटौं राष्ट्रिय खेलकुदलाई प्रभावित गर्ने उद्देश्यले माओवादीबाहेकका अन्य राजनीतिक दलले सुदूरपश्चिममा प्रतियोगिताको मुखैमा ठूलो संयुक्त आन्दोलन चलाएका थिए । पछि सबै दलको शीर्षस्तरबाटै समस्या समाधान गरेर छैटौं राष्ट्रिय खेलकुद सबैको सहभागितामा गरिएको थियो ।
अघिल्ला संस्करणहरूमा जस्तै यसपालि पनि मध्यमाञ्चल १ सय १८ स्वर्ण, ७६ रजत र ७९ कांस्य गरी कुल २ सय ७३ पदकका साथ टिम च्याम्पियन बन्यो । विकास क्षेत्रले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेपछिको यो तेस्रो संस्करण थियो । तीनै संस्करणमा मध्यमाञ्चल टिम च्याम्पियन बनेको थियो । त्यसअघि अञ्चलका टोली सहभागी गराइएको पहिलो तीन संस्करणमा टिम च्याम्पियनसिपको उपाधि वाग्मतीले जितेको थियो ।
५४ स्वर्ण, ४३ रजत र ३२ कांस्य पदक जितेको नेपाल पुलिस दोस्रो हुँदा ४५ स्वर्ण, ४१ रजत र ४३ कांस्य पदकसहित एपिएफले तेस्रो स्थान हासिल गर्यो ।
पश्चिमाञ्चल २५ स्वर्ण, ५१ रजत र ६६ कांस्य पदक जित्दै चौथो हुँदा माओवादी सेनाको टोली पिएलए स्पोर्ट्स १७ स्वर्ण, १५ रजत र २४ कांस्य पदकका साथ पाँचौं स्थान हासिल गर्यो । घरेलु टोली सुदूरपश्चिमले फुटबलसहित कुल १६ स्वर्ण पदक जित्यो । २२ रजत र ४५ कांस्य पदक जितेको टोली तालिकाको छैटौं स्थानमा रहँदा पूर्वाञ्चल सातौं, मध्यपश्चिमाञ्चल आठौं तथा विश्वविद्यालय टिम पुछारमा रहे । पूर्वाञ्चलले ९ स्वर्ण, २५ रजत र ८१ कांस्य पदक जितेको थियो भने मध्यपश्चिमाञ्चलले ९ स्वर्ण १६ रजत र ५९ कांस्य पदक जितेको थियो । विश्वविद्यालय टोली भने एक स्वर्ण पदकमा खुम्चिँदा ६ रजत र चार कांस्य पदक जित्यो ।
सातौं राष्ट्रिय खेलकुद,
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टका लागि सातौं राष्ट्रिय खेलकुदको महत्व अझ विशेष थियो । इटहरीका स्थायी बासिन्दा विष्ट नेपाली खेलकुदको नेतृत्वमा रहेकै बेला सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न सहरमा आयोजना भए । विराटनगरलाई केन्द्र बनाएर गरिएको यो संस्करणमा खेल संख्या बढाएर ३५ पुर्याइएको थियो । पूर्वाञ्चलका सबैजसो ठाउँमा राष्ट्रिय खेलकुद पुर्याउने उद्देश्यअनुसार सुनसरी, झापा, इलाम, सप्तरी र सिरहामा विभिन्न खेलका प्रतिस्पर्धा गराइएको थियो । पूर्वाञ्चलको पूर्वाधारले नथेगेका कारण काठमाडौं र पोखरामा पनि केही खेल आयोजना गर्नुपरेको थियो ।
सातौं राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुनरागमन थियो । अघिल्ला दुई संस्करणमा माओवादी सेनाको पिएलए स्पोर्ट्सको सहभागिताका कारण नेपाली सेनाको उपलब्धि थिएन । पाँचौं संस्करणमा माओवादी सेनाले भाग लिएका विधामात्र बहिष्कार गरेको सेनाले छैटौं राष्ट्रिय खेलकुदमा सहभागिता नै जनाएन । यसपालि भने सेना समायोजनको प्रक्रिया सकिएर माओवादी सेना विघटन भइसकेको थियो । जसका कारण राष्ट्रिय खेलकुदमा एउटा राजनीतिक दलको सेनाले विभागीय टोलीका रूपमा सहभागिता जनाउने ढिपी गर्ने आधार बाँकी थिएन । माओवादी नभएपछि नेपाली सेनाले पूर्ण क्षमतामा सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनायो ।
यसपालि विश्वविद्यालय टिमको पनि सहभागिता थिएन । एक हिसाबले राष्ट्रिय खेलकुद ५ विकास क्षेत्र र ३ विभागीय टोली गरी ८ टिमको सहभागितामा स्वाभाविक स्वरुपमा फर्किएको थियो ।
पूर्वाञ्चलका विभिन्न सहरमा पुस ८ देखि १५ सम्म भएको सातौं राष्ट्रिय खेलकुदको राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर रंगशालामा उदघाट्न गरिन् । धरान रंगशालामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि चाहिँ उपराष्ट्रपति नन्दबहादुर पुन थिए ।
२ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कांस्य गरी कुल १ हजार ३५ पदकका लागि आठ टोलीका कुल तीन हजार ९ सय ७२ खेलाडीले सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिए । जहाँ पहिलो पटक विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भने मध्यमाञ्चलको वर्चस्व तोड्दै टिम च्याम्पियन बन्यो । विभागीय टोली यसपालि पूर्ण रूपमा हाबी हुने क्रममा दोस्रो स्थान एपिएफ तथा तेस्रो स्थान नेपाल पुलिस क्लबले हात पारे ।
यसअघि वाग्मती अञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका नाममा सधैं टिम च्याम्पियन बन्दै आएको प्रतिद्वन्द्वीलाई पाखा लगाउने क्रममा सेनाले १ सय ८ स्वर्ण, ६१ रजत र ४३ कांस्य गरी कुल २ सय १२ पदक जित्यो । एपिएफले ४७ स्वर्ण, ४३ रजत र ५६ कांस्य पदकमा कब्जा जमाउँदा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कांस्य पदक जित्यो ।
तीन पटकको साबिक विजेता मध्यमाञ्चल ३१ स्वर्ण, ४९ रजत र ५७ कांस्यसाथ कुल १ सय ३७ पदकमा खुम्चिँदै चौथो स्थानमा सीमित भयो । ८ स्वर्ण, ४२ रजत र १४ कांस्य पदक जितेको मध्यपश्चिमाञ्चल पाँचौं, ७ स्वर्ण, २१ रजत र ३४ कांस्यसहित पश्चिमाञ्चल छैटौंं तथा ६ स्वर्ण, १६ रजत र ४७ कांस्य पदक जित्दै पूर्वाञ्चल सातौं स्थानमा रहे । सुदूरपश्चिमाञ्चल ४ स्वर्ण, ११ रजत र ५९ कांस्य पदकसहित पुछारमा थन्कियो ।
आठौं राष्ट्रिय खेलकुद, २०७५
पूर्वाधार निर्माणमा भएको ढिलाइका बावजुद आठौं राष्ट्रिय खेलकुद निर्धारित समयभन्दा चार महिनामात्र ढिलो गरी २०७५ वैशाख ५ देखि १२ सम्म साबिकको मध्यपश्चिमाञ्चल (लुम्बिनी प्रदेश)मा सम्पन्न भयो ।
राष्ट्रिय खेलकुदको इतिहासमै सबैभन्दा बढी सरकारी बजेट खर्च भए पनि आठौं राष्ट्रिय खेलकुद व्यवस्थापन र पूर्वाधारको हिसाबमा अत्यन्तै फितलो तरिकाले भएको थियो । २०५५ सालमा चौथो संस्करण आयोजना गरेको नेपालगन्जमा दोस्रो पटक राष्ट्रिय खेलकुद फर्किंदा ३५ खेल समावेश थिए ।
देशको सबैभन्दा ठूलो खेल महोत्सव आयोजना तथा पूर्वाधार निर्माणका लागि सरकारले दुई वर्षको बीचमा गरेर झन्डै ५० करोड रुपैयाँ प्रदान गरेको थियो । त्यसका बावजुद पूर्वाधार निर्माणमा भएको उदासीनताका कारण अत्यन्तै कमजोर पूर्वाधारमा खेल गराइयो । अन्तिम अवस्थामा एउटा होटलको पोखरीमा पौडीका प्रतिस्पर्धा गराउनुपर्यो । जसरी पनि राष्ट्रिय खेलकुद गर्नेमात्र उद्देश्य राखिँदा वैशाखको प्रचण्ड गर्मीमा खेलहरू भए । जसका कारण अत्यन्तै न्युन संख्यामा दर्शकको उपस्थिति रह्यो ।
देश नयाँ संविधान लागू भएपछि संघीय संरचनामा प्रवेश गरिसकेको थियो । यही कारण यसपालिदेखि विकास क्षेत्रको संरचना खारेज भइसकेका थिए । देश सात प्रदेशको नयाँ संरचनामा पुगेको थियो । यहीअनुसार यसपाली राष्ट्रिय खेलकुदमा ५ विकास क्षेत्रको सट्टा सात प्रदेशका टोलीको सहभागिता रह्यो । तीन विभागीय टिम छँदै थिए । त्यसमा यसपालि एनआरएनएको एउटा टिम थपियो । कुल टिम संख्या ११ पुग्यो ।
३ सय ३३ स्वर्ण, ३ सय ३२ रजत र ४ सय ८० कांस्य गरी कुल एक हजार १ सय ४५ पदकका लागि पुरुषतर्फ दुई हजार ८ सय २५ र महिलातर्फ २ हजार ३ सय ८६ गरी कुल पाँच हजार दुई सय ११ खेलाडीले विभिन्न ३५ खेलमा प्रतिस्पर्धा गरे ।
थुप्रै विवाद, उत्तिकै कमजोरी र अव्यवस्थाका बीच भएको राष्ट्रिय खेलकुदको स्मरणीय पक्ष चाहिँ त्रिभुवन आर्मी क्लबको वर्चस्व र १३ वर्षे किशोरी गौरिका सिंहको प्रदर्शन थियो । बेलायतमा बसोवास गर्ने गौरिकाले नेपालगन्जको पोखरीमा एउटा राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेर सनसनी मच्चाएकी थिइन् ।
त्रिभुवन आर्मी क्लबले १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य गरी २ सय ८९ पदक जित्दै टिम च्याम्पियनको उपाधि रक्षा गरेको संस्करणमा एपिएफलाई उछिन्दै नेपाल पुलिस क्लब ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्यसहित उपविजेता बन्यो । यसपालि पनि शीर्ष तीनमा अघिल्लो संस्करणको जस्तै विभागीय टिमकै वर्चस्व रह्यो । एपिएफ ५४ स्वर्ण, ६९ रजत र ८० कांस्य पदकसहित तेस्रो भयो ।
प्रदेश नम्बर तीन २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदकसाथ चौथो हुँदा गण्डकीले १२ स्वर्ण, २१ रजत र ४४ कांस्य पदकसहित पाँचौं स्थान हासिल गर्यो । यसैगरी आयोजक प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कांस्य पदकका साथ छैटौं हुँदा प्रदेश १ ले २० रजत र ५९ कांस्य पदकसहित सातौं स्थान हात पार्यो । सुदूरपश्चिम प्रदेश ८ स्वर्ण, १२ रजत र ३४ कांस्य पदकसाथ आठौं हुँदा प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कांस्य पदकका साथ नवौं स्थानमा ओगट्यो । एनआरएनएको टोली ६ स्वर्ण, २ रजत र ५ कांस्य पदकसहित १०औंं स्थानमा रहँदा ३ स्वर्ण, ४ रजत र १७ कांस्यसहित कर्णाली प्रदेश पुछारमा सीमित भयो ।
९औ राष्ट्रिय खेलकुद
राष्ट्रिय खेलकुद नेपालको बृहत खेलकुद मेला हो । यो अन्तर्राष्ट्रिय सहभागिताको मुख्य आधार पनि हो । राष्ट्रिय खेलकुद खेलाडी उत्पादनको थलो पनि हो ।
यसअघि नै सफलता देखिसकेका खेलाडीहरुका लागि पनि राष्ट्रिय खेलकुदले आफ्नो सफलता फराकिलो बनाउने अवसर हो ।
यसपटक गण्डकी प्रदेशको ८ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद विशेषतः कास्कीमै केन्द्रित थियो । आधाभन्दा बढी खेल पोखरामै भए । राष्ट्रिय खेलकुदमा केहि स्टार खेलाडी पनि थिए जसबाट सर्वोत्कृष्ट प्रदर्शनको अपेक्षा पहिलेदेखि नै थियो । केहि त्यस्ता सुपरस्टार पनि छन्, जो राष्टिय खेलकुदको समयमा मात्र चर्चामा आउँछन् ।
हामीले नवौं राष्ट्रिय खेलकुदमा उच्चस्तरको प्रदर्शनलाई निरन्तरता दिँदै स्वर्ण जित्ने खेलाडी र टिमबारे उल्लेख गरेका छौं ।
डुवाना लामा, पौडी (९ स्वर्ण १ रजत)
नेपाली पौडीकी सुपरस्टार गौरिका सिंह अस्वस्थताका कारण धेरै इभेन्टबाट नाम फिर्ता लिनुपरेपछि राष्ट्रिय खेलकुदमा अर्का खेलाडीका लागि अवसर आउनु स्वभाविक थियो । डुवानाले त्यही अवसरलाई उपयोग गरिन् ।
फिस्टेल एकेडेमीमा रहेको दूरीका कारण विवादास्पद पौडी पोखरी (सर्ट कोर्ष)मा डुवानाले ५ राष्ट्रिय कीर्तिमानसहित ९ स्वर्ण र १ रजत जितिन् । पौडी एउटा त्यस्तो खेल हो जहाँ एकै खेलाडीले दर्जनबढी स्पर्धामा सहभागी हुन पाउँछन् ।
३५ स्वर्णका लागि भएको प्रतियोगितामा डुवाना एक्लैले जितेको स्वर्ण प्रतियोगिताकै सर्वाधिक संख्या हो । यसअघि उनले तीन वर्ष अगाडि आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजत जितेकी थिइन् । तीन वर्षअघि १३ वर्षको उमेरमै उनले १३औं दक्षिण एसियाली खेलकुदमा २ रजत र ३ कांस्य जितेर भावी स्टारका रुपमा संकेत गरिसकेकी थिइन् ।
त्रिभुवन आर्मी क्लबका लागि खेलेकी डुवानाले २०० मिटर इन्डिभिज्युअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण जितिन् । यस्तै ५० मिटर बटरफ्लाइमा रजत जितिन् ।
जयरानी थारु, एथलेटिक्स (५ स्वर्ण)
सातौं राष्ट्रिय खेलकुदमा इटहरिमा खाली खुट्टा दौडिएकी जयरानी स्वर्णको प्रतिक्षामा थिइन् । आठौं राष्ट्रिय खेलकुदमा केशरी चौधरीको छायामा परेर उनले स्वर्ण पहिरिन पाइनन् ।
त्रिभुवन आर्मीकी यी २१ वर्षीया यी खेलाडी नवौं खेलकुदकै रानी हुन् । खेलको राजा मानिने एथलेटिक्सअन्तर्गत पोखरा रंगशालामा जयरानीको प्रदर्शन शतप्रतिशत थियो । अर्थात् उनले आफू सहभागी सबै इभेन्टमा च्याम्पियन बनिन् । तीमध्ये तीन स्पर्धामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारिन् ।
बर्दियामा जन्मिएकी उनी गत असारमा आयोजित ४४औं राष्ट्रिय एथलेटिक्समा पनि ३ स्वर्ण जितेर सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । ट्रयाक र फिल्ड गरी दुई क्षेत्र हुने भएकोले एथलेटिक्स खेलाडीले धेरै इभेन्टमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् ।
यो अवसरलाई सदुपयोग गर्दै जयरानीले व्यक्तिगततर्फ ४०० मिटर र १०० मिटर हर्डल्स तथा लङजम्पमा कीर्तिमानसहित स्वर्ण जितिन् । ४ गुणा १ सय मिटर रिले र ४ गुणा ४ सय मिटर रिलेमा अन्य खेलाडीसँग मिलेर आर्मी टिमका लागि स्वर्ण जितिन् । ४ गुणा ४ सय मिटरमा आर्मी टिम दोस्रो भएको थियो । एपीएफका खेलाडीले गल्ती गर्दा उनीहरुलाई स्पर्धाबाट बाहिर निकालियो । दोस्रो भएको आर्मीलाई स्वर्ण दिइयो ।
दुई हर्डल्स विधामा मात्र स्वर्ण जित्ने लक्ष्य राखेकी जयरानीले ५ स्वर्ण स्वर्ण जितेपछि नसोचेको सफलता पाएको बताउँदै अब नेपालका लागि खेल्ने र ओलम्पिकमा पुग्ने सपना बनाएकी छन् ।
उनी एथ्लेटिक्स महिलातर्फ उत्कृष्ट खेलाडी समेत बनिन् । उनले देशका लागि अन्तर्राष्ट्रिय स्तरमा मेडल जित्ने सम्भावना देखाएकी छन् ।
राजु राई, जिम्न्यास्टिक (७ स्वर्ण, १ रजत)
दुई महिनाअघि माल्दिभ्समा आयोजित एसियन बडिविल्डङ तथा फिजिक च्याम्पियनसिपमा कांस्य विजेता राजु राईलाई जिम्न्यास्टिक खेलाडीका रुपमा धेरै कमले चिन्छन् । किनभने उनको चर्चा राष्ट्रिय खेलकुदको समयमा मात्र हुने गर्छ । नेपालमा जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिता कमै हुने गरेको छ ।
तर, राजु राई पछिल्लो एक दशकदेखि जिम्न्यास्टिकका अविछिन्न च्याम्पियन हुन् । उनले सातौं राष्ट्रिय खेलकुदमा ७ र आठौंमा ५ स्वर्ण जितेका थिए । पोखरामा सम्पन्न प्रतियोगितामा राजुले सहभागी ८ स्वर्धामा ७ स्वर्ण जिते । एउटा स्पर्धामा दोस्रो भए ।
शिवराज पार्की, एथ्लेटिक्स (३ स्वर्ण, १ रजत)
एथलेटिक्स खेलमा लागेकाहरु सामान्यतः उमेर बढ्दै गएपछि लामो दूरीतिर ढल्किन्छन् । तर, शिवराज पार्की यस्ता अपवाद हुन् जसले मध्यम दूरीको आफ्नो विधा छाडेर स्प्रिन्ट सुरु गरे र आफूलाई प्रमाणित गरे । उनी १०० मिटर दौडमा च्याम्पियन बन्ने सबैभन्दा पाका धावक हुन् ।
लामो दूरीका स्थापित धावक गोपीचन्द्र पार्कीका कान्छा भाइ शिवराजले गत असारमा काठमाडौंमा भएको ४४औं राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिपमा १०० र २०० मिटरमा स्वर्ण जितेका थिए । त्यही लयलाई उनले नवौं राष्ट्रिय खेलकुदमा पनि निरन्तरता दिन सके । पोखरामा उनले १०० र २०० मिटरका साथै ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जिते । ४ गुणा ४०० मिटर रिलेमा उनीसहितको एपीएफ टिमले रजत जित्यो ।
आठौंमा १०० र २०० मिटरमा स्वर्ण जितेका आशिष चौधरीलाई पछि पार्दै शिवराज नयाँ स्टारका रुपमा उदाएका हुन् । उनले १०० मिटरमा आशिषलाई आन्तरिक छनोटमै पछि परेका थिए भने २०० मिटरतर्फ सँगै प्रतिस्पर्धामा रहेका आशिषलाई पछि पारेर स्वर्ण जिते ।
नवौंको अन्तिम दिन बिहीबार शिवराज र गोपीचन्द्र दुवै दाजुभाइले स्वर्ण जित्दै उत्साह मनाएका थिए ।
४५औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता समेत रहेको नवौंसहित लगातार दुई राष्ट्रिय प्रतियोगितमा स्प्रिन्टमा स्वर्ण जितेपछि अब शिवराजको लक्ष्य दक्षिण एसियाली खेलकुद र एसियन गेम्समा प्रतिस्पर्धा गर्ने रहेको छ । साथै उनले दुवै इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाउने र नेपाललाई मेडल दिलाउन सपना राखेका छन् ।
तारादेवी पुन, भारोत्तोलन
तारादेवी पुन नेपालको ‘स्ट्रङगेस्ट’ खेलाडी हुन् । यो अर्थमा कि उनी खेलकुदमा फलाम उचाल्ने खेलमा सबै भन्दा धेरै तौल उचाल्न सक्छिन् । अहिलेसम्म उनलाई चुनौती दिने कोही देखिएको छैन । ४० वर्षको उमेरमा पनि उनको जोशमा कुनै कमी आएको छैन ।
नवौंमा तारादेवीले आफ्नो नाममा अर्को स्वर्ण थपिन् । यो थप स्वर्ण मात्र होइन, निरन्तरता र मिहिनेतको प्रतिफल पनि हो ।
एक होइन दुई होइन तीन होइन । लगातार ६ पटक राष्ट्रिय खेलकुदमा सहभागी हुँदै शतप्रतिशत नतिजा दिनु चानचुने कुरा होइन । त्यो पनि दुई वर्षको अन्तरमा राष्ट्रिय खेलकुद नभएको अवस्थामा त यो निरन्तरता झन् अचम्म र लोभलाग्दो नै छ ।
उमेरले चार दशक काटेकी तारादेवी पुनले राष्ट्रिय खेलकुद खेल्न थालेको साढे दुई दशक भइसक्यो । उनले पहिलो पटक २०५४ मा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलतर्फ स्वर्ण जित्दा नजन्मेका भलिबल खेलाडीले समेत नवौँ राष्ट्रियमा भलिबलमा स्वर्ण जित्ने भइसके ।
नेपाल पुलिस क्लबकी खेलाडी तारादेवीले २०५४ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट खेल्दै भलिबलबाट स्वर्ण जितेकी थिइन् ।
२०५८ यता भारोत्तोलन खेलमा लागेकी उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितिन् ।
नवौं अन्तर्गत पोखराको उद्योग वाणिज्य संघको हलमा भएको ताराले तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले क्लिन एन्ड जर्कमा १०२ केजी, स्न्याचमा ७० केजी उचालेर राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन् । १०० भन्दा बढी भार उचाल्ने उनी नेपालकी एकमात्र महिला खेलाडी हुन् ।
प्रिन्स दाहाल, ब्याडमिन्टन (२ स्वर्ण १ कास्य)
जुनियर विशव वरीयताको शीर्ष स्थानमा पुगेर सनसनी मच्चाएका प्रिन्स राष्ट्रिय खेलकुदमा स्वर्णको पर्खाइमा थिए । नवौंमा दुई स्वर्ण जितेर उनले त्यो भोक पनि पूरा गरे ।
केहि महिनापछि सिनियर करिअर सुरु गर्न लागेका प्रिन्स घरेलु प्रतियोगितामा पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बनेका हुन् । त्यसो त जुनियरमै हुँदा पनि उनले नेपालका राष्ट्रिय स्तरको प्रतियोगितामा सिनियर खेलाडीलाई हराउन थालिसकेका थिए ।
नम्बर वान् खेलाडी दिपेश धामी र पूर्व नम्बर वानहरु रत्नजीत तामाङ र विकास श्रेष्ठ विदेश पलायन भएकाले प्रिन्सलाई सहज भयो । उनले पोखराको ब्याडमिन्टन कभर्डहलमा पुरुष एकल र डवल्समा स्वर्ण जिते । एक महिनाअघि मात्रै नेपाल पुलिस क्लबमा आबद्ध भएका प्रिन्ससहितको टिमले कांस्य जित्यो ।
२०२४ को पेरिस ओलम्पिको लागि ओलम्पिक सोलिडारिटी स्कलरसिप पाएका प्रिन्स हालै मलेसियामा प्रशिक्षण लिएर फर्केका थिए ।
नविता श्रेष्ठ, टेवलटेनिस (२ स्वर्ण र १ रजत)
टेबलटेनिस महिलातर्फ नविता श्रेष्ठले दशकयता दबदबा राख्दै आएकी छन् । नेपाल पुलिस क्लबकी नविता श्रेष्ठले नवौं राष्ट्रियमा पनि त्यो लयलाई कायम राखिन् ।
प्रतियोगिताअघि डेंगु संक्रमण हुँदा प्रदर्शन सन्तोषजनक नरहे पनि उनले महिला एकलतर्फ आफ्नै नन्द एलिना महर्जनलाई हराएर स्वर्ण जितिन् । राष्ट्रिय खेलकुदमा उनको यो लगातार चौथो स्वर्ण हो ।
उनले २०६८ मा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुददेखि नै लगातार स्वर्ण जितिरहेकी छन् । २०६७ मा पहिलोपल्ट राष्ट्रिय च्यम्पियन बनेकी नविता समग्रमा ९ पल्टकी राष्ट्रिय च्याम्पियन हुन् ।
यस्तै नविता सम्मिलित पुलिसले महिला टिम इभेन्टमा पनि स्वर्ण जित्यो । महिला डबल्समा भने नविताको जोडीले रजत मात्र जित्यो । मिक्स्ड डवल्समा भने नेपाल नम्बर एक स्यान्टू श्रेष्ठसँग खेलेकी उनी क्वाटरफाइनलमै पराजित भइन् ।
अभिलाषा विष्ट, टेनिस (४ स्वर्ण)
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत लनटेनिसमा अभिलाषा विष्टले सर्वाधिक ४ स्वर्ण जितिन् । त्रिभुवन आर्मी क्लबकी अभिलाषाले सहभागी गरेको चारवटै स्पर्धामा स्वर्ण जितेकी हुन् ।
उनले महिला सिंगल्स, महिला डबल्स, महिला टिम इभेन्ट र मिक्स डबल्स गरी चार इभेन्टमा स्वर्ण जितेका हुन् । महिला सिंगल्समा उनले आफ्नै क्लबकी इरा रावतलाई सोझो सेटमा हराएर स्वर्ण जित्दा महिला डबल्समा आइरा महर्निषा रावतसँग मिलेर स्वर्ण जितेकी हुन् । मिक्स डबल्समा प्रनव खनालसँग मिलेर स्वर्ण जितिन् ।
एपीएफ फुटबल टिम
राष्ट्रिय खेलकुदमा टिम गेम भन्दा पनि व्यक्तिगत प्रतिस्पर्धाको धेरै चर्चा हुन्छ । तर, दर्शक तान्ने र अधिकांश देशमा खेलिने खेलहरु भने सामूहिक खेल नै हुन् ।
नवौं राष्ट्रिय खेलकुदमा नेपाल आर्मी टिम च्याम्पियन बने पनि उसले दर्शक तान्ने टिम गेममा स्वर्ण जित्न सकेन । फुटबल र भलिबल दुवैको महिला र पुरुष स्पर्धामा एपीएफले स्वर्ण जित्यो ।
फुटबलको पुरुषतर्फ एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई सडेन डेथमा ९६(५० हराएर स्वर्ण पदक जित्यो ।
महिला फुटबलमा र महिला भलिबलमा एपीएफले पुलिसलाई हरायो । पुलिसले भने क्रिकेटको महिला र पुरुषमा स्वर्ण जित्यो
