रास्वपा र बालेन्द्र शाहबीच 'बृहत् एकता'को सहमति: बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार

Shine news
15 days ago
310 views
0 comments
3 shares
रास्वपा र बालेन्द्र शाहबीच 'बृहत् एकता'को सहमति: बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार - Image 1

काठमाडौँ ।

नेपाली राजनीतिको पछिल्लो परिदृश्यमा एउटा नयाँ र ठूलो मोड आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच 'बृहत् एकता' सम्बन्धी सात बुँदे सहमति भएको छ ।

​पुष १३, २०८२ मा भएको यस सहमति अनुसार, दुवै पक्षले 'राष्ट्रिय स्वतन्त्र पार्टी'कै नाम, झण्डा र 'घण्टी' चुनाव चिन्हमा गोलबद्ध हुने निर्णय गरेका छन् । सहमतिको सबैभन्दा महत्वपूर्ण बुँदामा पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने यथावत रहने र आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख गरिएको छ ।

​सहमति पत्रमा उल्लेख भएअनुसार, यो एकताको मुख्य उद्देश्य आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउनु हो । दुवै पक्षले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई स्वामित्व लिँदै शहीद परिवार र घाइतेका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीको संगठनात्मक संरचनामा युवा अभियन्ता र विज्ञहरूलाई योग्यता र समावेशिताको आधारमा जिम्मेवारी दिइने बताइएको छ ।

​यस ऐतिहासिक घोषणाले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै कित्तामा ल्याउने र आगामी निर्वाचनको समीकरणमा ठूलो फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।

Share

3

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!