सामाजिक सञ्जाल, खुफिया रणनीति र नेपाल: भावनाबाट सत्तासम्म, सत्ताबाट विघटनसम्म

आजको विश्वका लागि युद्धभूमि सीमामा होइन, मोबाइलको स्क्रिनमा छ । बन्दुकभन्दा शक्तिशाली हतियार अब ‘न्यारेटिभ’ हो । राष्ट्र ध्वस्त पार्न अब बम खसाल्नु पर्दैन, जनताको भावना कब्जा गरे पुग्छ । यही रणनीतिअन्तर्गत सामाजिक सञ्जाल, मिडिया र अन्तर्राष्ट्रिय खुफिया एजेन्सीको सुनियोजित हस्तक्षेपले संसारका थुप्रै देशलाई गृहयुद्ध, राज्यविहीनता र विदेशी रणभूमिमा रूपान्तरण गरिसकेको छ । नेपाल पनि यो खतरा बाट अछुतो छैन, बरु अझ गम्भीर मोडमा उभिएको छ ।
१. अन्तराष्ट्रिय प्रयोगशाला बनेका देशहरू : चेतावनीका घण्टीहरू
इराकमा “तानाशाही अन्त्य” को नाममा भावनात्मक प्रचार गरियो । मिडियाले झुटा WMD को कथा बेच्यो । परिणामत: राज्य संरचनालाई ध्वस्त, लाखौँको मृत्यु, दशकौँको अस्थिरता बेहोर्नुपर्यो ।
लिबियामा ‘लोकतन्त्र’ को नारा लगाइयो । गद्दाफी हटे, तर राष्ट्र नै हट्यो । आज त्यहाँ सरकार होइन, मिलिसिया शासन छ ।
सिरियामा ‘जनविद्रोह’ लाई सशस्त्र अराजकतामा रूपान्तरण गरियो । बाह्य शक्तिका proxy युद्धले देशलाई खरानी बनायो ।
युक्रेनमा मिडिया-प्रायोजित ध्रुवीकरण, भावनात्मक राष्ट्रवाद र बाह्य हस्तक्षेपले देशलाई दीर्घकालीन युद्धको दलदलमा धकेल्यो ।
यी सबै घटनामा एउटै सूत्र देखिन्छ कि,
पहिले सामाजिक सञ्जालबाट भावना भड्काइयो,
पछि कठपुतली नेतृत्व उभ्याइयो,
अन्ततः देश विदेशी रणभूमि बनाइयो ।
२. नेपालमा दोहोरिँदै गरेको खतरनाक स्क्रिप्ट
नेपालमा पनि पछिल्ला वर्षहरूमा उस्तै संकेतहरू तीव्र देखिन थालेका छन् ।
संस्थागत राजनीतिलाई “सिस्टम नै फेल” भन्दै बदनाम गरिँदैछ।
संविधान, संसद् र राजनीतिक दलप्रति घृणा फैलाइँदैछ ।
अराजकता र सडक दबाबलाई ‘क्रान्ति’ को रूपमा महिमामण्डन गरिँदैछ ।
सामाजिक सञ्जालमा अनियन्त्रित राष्ट्रवाद र नायक पूजा बढाइँदैछ ।
यी सबै कुनै संयोग होइनन् । कमजोर अर्थतन्त्र, बेरोजगार युवा, आप्रवासनको पीडा र राज्यप्रति बढ्दो अविश्वास - यी सबै भावनात्मक कच्चा पदार्थ हुन्, जसलाई बाह्य शक्तिले सजिलै प्रयोग गर्न सक्छन् ।
३. मिडिया र डिजिटल ‘नायक’ उत्पादन
नेपालमा देखिएको अर्को गम्भीर खतरा हो, डिजिटल नायक उत्पादन ।
सामाजिक सञ्जालमा अचानक उदाएका पात्र, संस्थागत जिम्मेवारीविना ‘राष्ट्र बचाउने’ ठेक्का लिने प्रवृत्ति, जटिल राज्य सञ्चालनलाई सरल नारामा झार्ने मानसिकता, यी सबै खुफिया रणनीतिका परिचित चरण हुन् ।
जब मिडियाको एउटा हिस्सा पनि क्लिक, टीआरपी र बाह्य एजेन्डाको दास बन्छ, तब सत्य होइन, न्यारेटिभ बिक्छ ।
४. सत्तामा पुगेपछि शुरू हुने असली खेल
इतिहासले देखाएको छ कि, यसरी उत्पादन भएको नेतृत्व सत्ता पुगेपछि
राष्ट्रिय स्वाधीन निर्णय गर्न सक्दैन
राज्य संयन्त्र कमजोर पार्छ
सुरक्षा निकाय र न्याय प्रणालीलाई विवादित बनाउँछ
समाजलाई जातीय, क्षेत्रीय वा पुस्तागत रूपमा विभाजन गर्छ ।
यही विभाजन गृहयुद्धको आधार बन्छ । बाह्य शक्तिका लागि त्यो क्षण ‘सुनौलो अवसर’ हुन्छ कि शान्ति, सहयोग वा सुरक्षा को नाममा हस्तक्षेप गर्ने ।
५. नेपाल किन अझ संवेदनशील छ त ?
नेपाल दुई ठूला शक्तिबीच अवस्थित छ । खुला सीमाना, कमजोर साइबर सुरक्षा, निर्भर अर्थतन्त्र र वैदेशिक सहायतामा आश्रित राज्य संरचनाले नेपाललाई सजिलो निशाना बनाएको छ ।
यदि आज हामीले
भावना होइन विवेक,
व्यक्ति होइन संस्था,
तात्कालिक आक्रोश होइन दीर्घकालीन राष्ट्रहित
छान्न सकेनौँ भने, नेपाल पनि भोलिको ‘केस स्टडी’ बन्न समय लाग्दैन ।
त्यसैले चेतना नै अन्तिम सुरक्षा कवच हो ।
राष्ट्र डुबाउन ट्याङ्क चाहिँदैन मात्र जनतालाई भ्रमित बनाइए पुग्छ ।
राष्ट्र बचाउन भाषण काफी हुँदैन, विवेकशील नागरिक चाहिन्छ।
नेपालले इतिहासबाट सिक्न सकेन भने, अरू देशको पीडाबाट सचेत भएन भने, भावनाको राजनीति र डिजिटल अराजकताले देशलाई विदेशीको रणभूमि बनाउन धेरै समय लाग्नेवाला छैन ।
आज प्रश्न यो होइन कि को सही भन्ने ?
प्रश्न के हो भने, हामी कति सजिलै प्रयोग भइरहेका छौँ ?
