सैनिक कुटपिटको विरोधमा डोल्पामा बिरोध प्रदर्शन, चेकपोष्ट हटाउन माग

Shine news
21 days ago
818 views
0 comments
23 shares
सैनिक कुटपिटको विरोधमा डोल्पामा बिरोध प्रदर्शन, चेकपोष्ट हटाउन माग - Image 1

मोहन बुढा, डोल्पा

पुस ५, २०८२

​डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली सेनाका जवानले सर्वसाधारणमाथि कुटपिट गरेको घटनालाई लिएर स्थानीय जनप्रतिनिधि, नागरिक समाज र राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। जिल्ला सुरक्षा समिति डोल्पालाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले सुलिगार्डस्थित संयुक्त चेकजाँच पोष्ट तत्काल हटाउन माग गरेका छन्।

​घटना विवरण अनुसार, गत पुस ३ गते साँझ ६ बजेतिर सुलिगार्ड चेकपोष्टमा खटिएका नेपाली सेनाका सिपाहीहरूले ठूलीभेरी नगरपालिका वडा नं. ६ का ओम प्रसाद रोकाया माथि हातपात गरेका थिए। पीडित पक्षका अनुसार सेनाले गालीगलौज गर्नुका साथै अङ्गभङ्ग हुने गरी कुटपिट गरेको र त्रासपूर्ण वातावरण सिर्जना गरेको थियो।सुरक्षा समितिमा बुझाइएको पत्रमा भनिएको छ कि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि स्थापना भएको ब्यारेकले निकुञ्जको कार्यक्षेत्र बाहिर गएर स्थानीयलाई दुःख दिएको छ। भेरी नदी पारी रहेको सो चेकपोष्ट निकुञ्जको मध्यवर्ती क्षेत्र वा कोर एरियामा नपर्ने र त्यो स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने दाबी गरिएको छ।

​"शान्ति सुरक्षा कायम गर्ने निकायबाटै सर्वसाधारण त्रसित हुनु निन्दनीय छ," ज्ञापनपत्रमा उल्लेख छ। स्थानीयले दोषीलाई कडा कारबाही, घाइतेको उपचार र २४ घण्टाभित्र उक्त चेकपोष्ट निकुञ्ज क्षेत्रभित्रै सार्न अल्टिमेटम दिएका छन्। उक्त ज्ञापनपत्रमा नेपाली कांग्रेसका दशरथ रोकाया, नेकपा एमालेका नर बहादुर बुढा, माओवादी केन्द्रका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ। माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।

Share

23

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!