संविधान कार्यान्वयनका लागि नेविसंघको संकल्प, विचार गोष्ठीमा युवाहरूको ठूलो सहभागिता

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा “संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणको संकल्प” विषयक विचार गोष्ठी उत्साहजनक रूपमा सम्पन्न भएको छ। नेविसंघ काठमाडौंका सभापति अंशु केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका युवा तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सह-महामन्त्री भीष्मराज आङ्देम्बेले वर्तमान अवस्थामा संविधानको रक्षा र कार्यान्वयनमा युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो। उहाँले नागरिक अधिकारको संरक्षणका लागि नेविसंघले सदैव खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, गोविन्द भट्टराई, नेताहरू रञ्जित कर्ण र प्रमोद हरि गुरागाईं लगायतको विशिष्ट आतिथ्यता रहेको थियो। सभापतिको आसनबाट बोल्दै अंशु केसीले काठमाडौं नेविसंघ संविधानको सफल कार्यान्वयन र विद्यार्थी हकहितका लागि निरन्तर प्रतिबद्ध रहने संकल्प व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी युवाहरूको उत्साहले संगठनको गतिशीलतालाई थप प्रस्ट पारेको थियो।