स्ववियु परिषद् नेपालद्वारा नेपाली कांग्रेसलाई ७ बुँदे सुझाव पत्र: नीतिगत तहमा युवा सहभागिताको अपील

काठमाडौँ, पुस ६ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले नेपाली कांग्रेसको नीतिगत र सांगठनिक संरचनामा युवाहरूको भूमिकालाई अझ मजबुत बनाउन ७ बुँदे सकारात्मक सुझावहरू पेश गरेको छ। परिषद्का अध्यक्ष रोहित कपाली नेतृत्वको टोलीले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो।
परिषद्ले 'जेन्जी' (Gen Z) पुस्ताको उत्साहलाई पार्टीको मूलधारमा जोड्नका लागि स्थानीय तहदेखि केन्द्रसम्मका हरेक कार्यसमितिमा ३५ वर्ष मुनिका युवाहरूका लागि ३० प्रतिशत आरक्षणको व्यवस्था गर्न अनुरोध गरेको छ। आगामी १५ औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा युवाहरूलाई विशेष प्राथमिकता दिनु अहिलेको राजनीतिक आवश्यकता रहेको पत्रमा उल्लेख छ।
सुझाव पत्रमा उल्लेखित मुख्य बुँदाहरू:
१. भाद्र २३ गतेको जेन्जी उमेर समूहद्वारा गरिएको आन्दोलनको भावनालाई सम्मान गर्दै उक्त आन्दोलनको जनादेशलाई राष्ट्रिय राजनीतिमा सुनिश्चित तथा संस्थागत गर्न ३५ बर्ष मुनिका युवाहरुको लागी नेपाली कांग्रेसको स्थानीय तह देखि केन्द्रसम्मका हरेक कार्यसमितिमा ३०% आरक्षण सुनिश्चित गर्नुपर्ने।
२. यही मिति २०८२ पौष २६,२७ र २८ गते गरिने नेपाली कांग्रेसको १५ औ महाधिबेशनका साथै क्रियाशिल सदस्यता वितरणमा जेन्जी उमेर समुहलाई प्राथमिकता दिनुपर्ने,
३. नेपाली कांग्रेसको स्थानीय तह देखि केन्द्रीय कार्यसमितिमा रहेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र संघिय प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वार हुनु पुर्व हरेक उमेद्वारले आफ्नो सम्पत्ति विवरण सार्बजनिक गर्नुपर्ने।
४. यहि मिति २०८२ फाल्गुन २१ गते हुन गईरहेको निर्वाचनमा हरेक क्षेत्रबाट एक जना जेन्जी उमेर समुहको प्रतिनिधि अनिवार्यरुपमा सिफारिस गर्नु पर्ने।
५. नेपाली कांग्रेसको तत्कालिन बिधान संशोधन मार्फत क्रियाशील सदस्यता लिएको ५ बर्ष पछी मात्र महाधिबेशन प्रतिनिधि हुन पाउने व्यवस्था संशोधन गरि क्रियाशील सदस्यता भएको सदस्यले महाधिबेशन प्रतिनिधि हुन पाउने व्यवस्था गर्नु पर्ने।
६. नेपाली काग्रेँसका सम्पूर्ण केन्द्रीय सदस्यले निर्वाचन क्षेत्रबाट निर्वाचित भई महाधिबेशन प्रतिनिधिका आउनुपर्ने।
७. काठमाण्डौ स्थित प्रदर्शनिमार्ग वरिपरी नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, आर.आर. क्याम्पस, बालमिकी क्याम्पस, पदमोदय माध्यमिक बिद्यालय, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पस र त्रिचन्द्र क्याम्पस रहेकाले उक्त स्थानमा महाधिबेशन जस्ता ठुला कार्यक्रम गर्दा करिब २५,००० भन्दा बढी विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पर्ने भएकाले उक्त स्थानको विकल्प खोज्नुपर्ने।
नेपाली कांग्रेसले सधैँ लोकतान्त्रिक मूल्य र युवा भावनाको कदर गर्दै आएको उल्लेख गर्दै परिषद्ले यी सुझावहरूलाई आगामी महाधिवेशनमार्फत कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेको छ। यो कदमले पार्टीमा नयाँ उर्जा थप्ने र युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने परिषद्को ठम्याई छ।