ताम्बा विषयक पुस्तक ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक

Shine news
11 days ago
234 views
0 comments
2 shares
ताम्बा विषयक पुस्तक ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक - Image 1

-प्रकाश थिङ

काठमाडौं । तामाङ समुदायमा अभिन्न अंगका रूपमा मानिने ताम्बाको विषयमा लेखिएको पुस्तक ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक गरिएको छ। ताम्बा अध्येता पासाङ दोर्जे लामा मोक्तानद्वारा लिखित उक्त पुस्तक मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

कार्यक्रममा लेखक मोक्तानले ताम्बासम्बन्धी ऐतिहासिक पृष्ठभूमि, तामाङ समाजमा यसको सांस्कृतिक र सामाजिक भूमिका तथा तीन दशकभन्दा लामो समयदेखि आफूले आर्जन गरेको अनुभवलाई पुस्तकमा समेटिएको बताए। पुस्तकमा पेङदोर्जे, डम्फु, ताम्बा तह तथा ताम्बा परम्परासँग सम्बन्धित विविध विषयहरूको चर्चा गरिएको छ।

पुस्तकको समीक्षा गर्दै समीक्षक नवीन मोक्तानले पुस्तकले मुख्य रूपमा तीन विषयमा जोड दिएको बताए। “विवाहमा गरिने चारतम, साङसेरगेम नगरी कुनै कर्मकाण्ड नगर्नुपर्ने मान्यता र ह्रुइसम्बन्धी विषयलाई लिपिबद्ध रूपमा प्रस्तुत गरिएको छ,” उनले भने। ह्रुइमा गरिने विवाहको विषय पुस्तकमा कडा रूपमा उठाइएको उनको भनाइ थियो। यद्यपि पुस्तकमा समेटिएका ताम्बाका गीतहरू धेरै पाठकका लागि बुझ्न गाह्रो हुन सक्ने उनले टिप्पणी गरे।

समीक्षक तथा लेखक रवीन्द्र तामाङले पुस्तकमा ताम्बा के हो, यसको प्रक्रिया के हो र किन गरिन्छ भन्ने विषयलाई गीतसहित स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए। “ताम्बाको भूमिका र महत्वलाई जस्टिफिकेसनसहित प्रस्तुत गरिएको छ,” उनले भने। पुस्तकमा थर सृष्टिसम्बन्धी विषयहरू पनि समेटिएको भए अझ समृद्ध हुने र कतिपय विषयलाई थप तथ्यपरक बनाउन सकिने सुझाव उनले दिए।

तामाङ समुदायको मौलिक ज्ञान, परम्परा र संस्कारलाई दस्तावेजीकरण गर्ने उद्देश्यसहित प्रकाशित ‘ताम्बा ह्रिमठिम’ पुस्तकले ताम्बा अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!