त्रिचन्द्रमा अनेरास्ववियु द्धारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

काठमाडौँ, पुस १६ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा नव आगन्तुक विद्यार्थीहरूका लागि भव्य स्वागत तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस कमिटीका अध्यक्ष विरेन्द्र पाल थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धामीले विद्यार्थी राजनीति शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज ज्ञवालीको उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूलाई शैक्षिक उचाइ हासिल गर्न र व्यावसायिक जीवनका लागि अहिलेदेखि नै दत्तचित्त भएर लाग्न उत्प्रेरित गर्नुभयो। अर्का विशिष्ट अतिथि वीरेन्द्र रावलले पनि विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। नव आगन्तुक विद्यार्थीहरूलाई अबिर र माला लगाएर स्वागत गरिएको थियो भने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो। कार्यक्रम समापन गर्दै अध्यक्ष थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण नेतृत्व, सहपाठी र विद्यार्थी साथीहरूलाई हार्दिक आभार व्यक्त गर्नुभयो।