उदयपुरमा ७६३ किलो गाँजासहित दुई जना पक्राउ

स्रोत: नेपाल प्रहरीको आधिकारिक फेसबुक पेज
उदयपुर, १३ पुस । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चोकबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेल्टार र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले शनिबार राति को १ ज ३४५६ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा ३० बोरामा लुकाइराखेको ७६३.७६ किलोग्राम गाँजा फेला पारेको हो।
रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको उक्त गाडीमा सवार बेलका नगरपालिका-६ का २३ वर्षीय रविन कुमार राई र वडा नं. ९ का २८ वर्षीय राम बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गाँजा र बोलेरोसहित दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।