युवा पुस्तासँग कार्यबाहक सभापति पुर्ण बहादुर खड्काः आशा, भरोसा र दिशानिर्देश

एनपी जोशी
8 days ago
558 views
0 comments
1 shares

काठमाडौं । दूर कर्णालीको भुमीबाट विद्यार्थी राजनीतिमा होमिँदै परिवर्तनका अभियान, लोकतान्त्रिक संघर्ष र विचारको राजनीतिबाट खारिएर आज ऐतिहासिक पार्टी नेपाली कांग्रेसको उप-सभापति एवं कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्नु भएका श्रद्धेय नेतृत्व पुर्ण बहादुर खड्काज्यूसँग देशको वर्तमान अवस्था, युवाको भविष्य, आसन्न आम निर्वाचन, नेपाली कांग्रेसको १५औँ महाधिवेशन र नेपाल विद्यार्थी संघको भूमिकाबारे अत्यन्तै आत्मीय र प्रेरणादायी छलफल भयो ।

छलफलका क्रममा उहाँले युवा पुस्ताका जिज्ञासा र प्रश्नलाई गम्भीरतापूर्वक सुन्नुभयो । कुनै औपचारिकता वा टार्ने शैली होइन, स्पष्ट, सरल र अनुभवी जवाफबाट उहाँमा युवाप्रतिको चासो र भरोसा प्रष्ट देखिन्थ्यो । उहाँले युवालाई केवल ‘भोट बैंक’ होइन, देश निर्माणको मुख्य शक्ति ठान्नुहुन्छ भन्ने अनुभूति भयो ।

देशको अवस्थाबारे बोल्दै कार्यबाहक सभापति खड्काले राज्यभित्र मौन रूपमा फैलिँदै गएको भ्रष्टाचारको अन्त्य नगरी युवाको भविष्य सुरक्षित हुन नसक्ने स्पष्ट पार्नुभयो । निजी र सरकारी क्षेत्रको सहकार्यबाट व्यापक रोजगारी सिर्जना गरी युवाले विदेश होइन, स्वदेशमै आफ्ना सीप, दक्षता र क्षमतालाई प्रयोग गर्न पाउने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “युवाको विदेश पलायन बाध्यता बनाईनु हुदैन" भन्ने उहाँको भनाइले हाम्रो यथार्थ बोलेको महसुस भयो ।

आसन्न आम निर्वाचनका सन्दर्भमा उहाँले नेपाली कांग्रेसलाई पुनः युवामैत्री र जनमैत्री पार्टीका रूपमा स्थापित गर्न विद्यार्थी र युवालाई गाउँगाउँ, बस्तीबस्ती पुग्न आह्वान गर्नुभयो । सामाजिक सञ्जालमा मात्र होइन, प्रत्यक्ष जनसम्पर्क, विचार र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने उहाँको सन्देश युवाका लागि स्पष्ट मार्गनिर्देशन थियो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा उठेका भ्रमलाई चिर्दै उहाँले संस्थागत निर्णयको महत्व बुझाउनुभयो । क्रियाशील सदस्यता वितरण र नवीकरण समयमै नसकिएकाले र आम निर्वाचन नजिकिएको अवस्थामा निर्वाचनअघि महाधिवेशन सम्भव नभएको यथार्थ स्वीकार्दै, निर्वाचनपछि महाधिवेशन गर्ने पार्टीको संस्थागत निर्णय भइसकेको जानकारी दिनुभयो । व्यक्तिगत चाहनाभन्दा पार्टीको निर्णयलाई मान्नु नै लोकतान्त्रिक अभ्यास हो भन्ने उहाँको भनाइ युवाका लागि महत्वपूर्ण पाठ थियो ।

शिलशिलाबद्व गरिएका मेरा प्रश्नहरूमा झर्को नमानी, धैर्यपूर्वक र आत्मीय शैलीमा उत्तर दिनु भएका कार्यबाहक सभापति खड्काबाट उहाँ नयाँ पुस्तासँग संवाद गर्न चाहने, सुन्न सक्ने र मार्गदर्शन गर्न सक्ने नेता भएको अनुभूति भयो । उहाँको लोकतान्त्रिक आचरण, स्वच्छ राजनीति र सन्त नेता कृष्णप्रसाद भट्टराईको विचारप्रतिको निष्ठा आजको राजनीतिमा अझै दुर्लभ तर अत्यावश्यक गुण हो ।

आज निराशा र आक्रोशले युवालाई घेरिरहेको समयमा पुर्ण बहादुर खड्काजस्ता अनुभवी, इमानदार र विचारवान नेतृत्वले युवामा आशा जगाउने काम गरिरहेको छ । विद्यार्थी र युवा सचेत, संगठित र विचारशील बनेर अघि बढेमा नेपाली कांग्रेस मात्र होइन, देशको भविष्य पनि सुरक्षित र उज्यालो बन्नेछ ।

Share

1

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!