
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमा हुने एनपिएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लाइन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच हुने जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल ९ कात्तिकको दिउँसो ४:३० बजे हुनेछ ।
पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रोपटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलोपटक उपाधि जितेको थियो । क्यानका अनुसार एनपिएलमा कुल ३२ खेल हुनेछन् । लिग चरणमा २८ खेल हुने क्यानका सचिव पारस खड्काले जनाए । यसैगरी, फाइनलसहित चार प्ले अफ खेल हुनेछ । २७ दिनसम्म चल्ने एपिएलमा आठ फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी, सुदूरपश्चिम, विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । यसपटक चार दिन विश्राम राखिएको छ । लिग चरणमा ३० अक्टोबर ४ नोभेम्बर, ८ र ११ नोभेम्बर विश्राम राखिएको छ ।
क्यानले दिनमा एक खेल मात्र हुँदा दिउँसो ४:३० बजे खेल हुने जनाएको छ । दुई खेल भएको अवस्थामा पहिलो खेल १२:३० बजे र दोस्रो खेल ४:३० हुने क्यानले जनाएको छ । क्यानले १७ कात्तिकमा अंकतालिकाको शीर्ष दुई स्थानमा रहेको टोलीबिच क्वालिफायर खेल हुनेछ । यसैगरी, १८ कात्तिकमा तेस्रो र चौथो टोलीबिच खेल हुनेछ ।
१९ कातिकमा क्वालिफायर १ को उपविजेता र एलिमिनेटरको विजेताबिच खेल हुने क्यानले जनाएको छ । सुदूरपश्चिम पछिल्ला दुई संस्करणको उपविजेता हो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो संस्करणमा भने लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै पहिलोपल्ट उपाधि उचालेको थियो ।
डिआरएसको सम्भावना
क्यानले दोस्रो संस्करण प्यारापिटसहित फ्लडलाइटमा आयोजना गरेको थियो । दुई संस्करण पूरा भइसक्दा एनपिएलमा डिआरएसको चर्चा छ । क्यानले दोस्रो संस्करणमै डिआरएस प्रविधि राख्ने करसत गरेको थियो । तर, त्यो सम्भवत भएन । यसपटक तेस्रो संस्करणमा डिएसआरको सम्भावना भएको क्यानको भनाइ छ । क्यानका सचिव खड्काले एनपिएलमा पहिलोपटक डिआरएस ल्याउने पहल भइरहेको बताए ।
क्यानले अहिले डिआरएसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षण गरिसकेको जनाएको छ । ‘दुई कम्पनीसँग परीक्षण गरिसकेका छौँ । एक्युरेसी कति छ भन्ने अन्तिम निष्कर्ष आउन बाँकी छ,’ उनले भने, ‘त्यसपछि कुन कम्पनीसँग जाने भन्ने निर्णय हुन्छ ।’
उनले घरेलु लिगका लागि उपयुक्त प्रविधि प्रयोग गर्ने तयारी भइरहेको बताए । ‘विश्वस्तरीय प्रतियोगितामा प्रयोग हुने डिआरएसका लागि ठुलो स्रोतसाधन चाहिन्छ तर, हामी नेपालमा पहिलोपटक प्रयोग गर्न मिल्ने प्रविधि राख्छौँ,’ उनले भन । खेलक्रममा एलबिडब्लू, रनआउट तथा क्यान आउटको सन्दर्भमा अम्पायरको निर्णय चित्त नबुझेको अवस्थामा रिभ्यु लिनेलाई नै डिआरएस भनिन्छ ।