
गुल्मी जिल्ला उसु संघको अध्यक्षमा आठ पटकका राष्ट्रिय च्याम्पियन तेजबहादुर पल्ली निर्विरोध निर्वाचित भएका छन्।
लामो समयदेखि नेपाल एपीएफ क्लब र उसु खेलको विकासमा सक्रिय पल्ली नेपाल एपीएफ क्लबमा उसु खेलको संस्थापनदेखि नै जोडिएका तथा क्लबका पहिलो उसु राष्ट्रिय पदक विजेता खेलाडी समेत हुन्। राष्ट्रिय टोलीमा च्याम्पियन खेलाडीका रूपमा अनुभव बटुलेका पल्लीसँग उसु खेलको प्रशिक्षण, प्रतियोगिता र खेलाडी उत्पादनको लामो अनुभव छ।
आफूसँग रहेको ज्ञान, अनुभव र क्षमतालाई गुल्मीको खेल विकासमा भरपुर प्रयोग गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु आफ्नो पहिलो लक्ष्य रहेको पल्लीले बताए।
“मैले लामो समय उसु खेलमा हासिल गरेको ज्ञान, अनुभव र क्षमता अब गुल्मीको खेल विकासमा प्रयोग गर्न चाहन्छु। गुल्मीबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नु मेरो पहिलो लक्ष्य हुनेछ,” पल्लीले भने।
पल्लीको नेतृत्वसँगै गुल्मीमा उसु खेलको प्रशिक्षण विस्तार, नयाँ प्रतिभाको पहिचान र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ।