
काभ्रे — नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा काभ्रे जिल्लामा युवा पुस्ताबाट नेतृत्वमा आउने आकांक्षीहरूको चर्चा बढेको छ। यसै क्रममा इन्जिनियर तथा समाज सेवि युवा प्रतीक महत युवा तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पेसाले सिभिल इन्जिनियर रहेका प्रतीक महत विद्यार्थी राजनीतिसँगै सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका उनी हाल नेपाल विद्यार्थी संघको निबर्तमन केन्द्रिय सदस्य तथा पनौती नगर सभापतिका रूपमा संगठनात्मक भूमिकामा छन्।
विद्यार्थी अधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा भएका विभिन्न आन्दोलन तथा अभियानमा सक्रिय सहभागिता जनाएका महतले आन्दोलनको मैदानबाट प्राप्त अनुभवलाई अब पार्टी संगठन र नीति निर्माणको तहमा प्रयोग गर्ने बताएका छन्।
इन्जिनियरिङ पेसामा रहेर विकास, पूर्वाधार र प्राविधिक विषयसँग नजिकबाट काम गरिरहेका महतले राजनीतिमा पनि युवा पुस्ताको सिर्जनशीलता, प्राविधिक ज्ञान र व्यावसायिक दक्षतालाई जोड्नुपर्ने धारणा राख्दै आएका छन्।
उनले नेपाली कांग्रेसलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदर्शमा अझ सुदृढ गर्दै समुन्नत कांग्रेस र सम्मानित कांग्रेसी निर्माण गर्न युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन्।
प्रतीक महतको उम्मेदवारीले काभ्रे कांग्रेसभित्र युवा प्रतिनिधित्व, पुस्तान्तरण र नयाँ पुस्ताको नेतृत्व विकासको बहसलाई थप अगाडि ल्याएको छ।
“आन्दोलनको मैदानदेखि इन्जिनियरिङ पेशा र संगठन निर्माणसम्म प्राप्त अनुभवलाई अब पार्टीको नीति निर्माण र नेतृत्वमा जोड्न चाहन्छु। युवाको आवाज निर्णय गर्ने तहसम्म पुर्याउनु मेरो प्राथमिकता हो,” महतले बताएका छन्।