
ललितपुर । जापानको आइची–नागोयामा आयोजना हुन लागेको २०औँ एसियन गेम्स २०२६ मा नेपालको प्रतिनिधित्व गर्न जाने नेपाली उसु टोलीलाई ललितपुर जिल्ला प्रमुख कराते डोजो लगनखेलमा बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर जिल्ला उसु संघ र जिल्ला खेलकुद विकास समिति, ललितपुरको आयोजनामा भएको कार्यक्रममा १० जना उसु खेलाडी र २ जना प्रशिक्षकलाई बिदाइ गरिएको थियो। नेपाली टोली भोलि बिहान ११ बजे जापान प्रस्थान गर्ने छन्।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री तथा प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनज्यूले खेलाडीहरूलाई शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको गौरव बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो।

उहाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै लगानी र पूर्वाधार विकासमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभएको थियो। हालको एसियन गेम्समा सहभागी हुने नेपालको सम्पूर्ण टोलीका लागि विनियोजित बजेटको तुलनामा बागमती प्रदेशले आयोजना गर्ने बृहत् खेलकुद प्रतियोगिताको बजेटसमेत ठूलो रहेको उल्लेख गर्दै प्रदेश सरकारले खेलकुदमा गरेको लगानीको उदाहरण प्रस्तुत गर्नुभएको थियो।
महर्जनले एसियन गेम्समा सहभागी हुन जाने खेलाडीहरूलाई गरिएको यो सहयोग सानो भए पनि खेलाडीको मनोबल र आत्मविश्वास बढाउन महत्वपूर्ण रहेको बताउनुभएको थियो। साथै, राष्ट्रका लागि पदक जित्ने खेलाडीहरूलाई आगामी दिनमा नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा खेलाडीहरूको हौसला बढाउँदै ट्र्याकसुट तथा ब्याग वितरण गरिएको थियो।
कार्यक्रममा ललितपुर जिल्ला उसु संघका अध्यक्ष पञ्चराम महर्जनज्यू कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्नुभएको थियो। उहाँले खेलाडीहरूको तयारी तथा एसियन गेम्समा सहभागिताका लागि निरन्तर समन्वय र सहयोग गर्दै आएका छन्।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनज्यू, आयोजक संस्था तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।