आम नागरिक मञ्चका अध्यक्ष बोगटीसहित सयौँ युवा नेकपामा प्रवेश


काठमाडौँ । आम नागरिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष अर्जुन बोगटीको नेतृत्वमा सयौँ युवाहरू आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक विशेष कार्यक्रमका बीच पार्टी संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नवप्रवेशीहरूलाई खादा र माला लगाएर ससम्मान पार्टीमा स्वागत गर्नुभयो।
पार्टी प्रवेश गर्नेहरूमा मञ्चका उपाध्यक्ष युवराज थापा, सचिव प्रनिषा कटवाल र सहिद परिवारकी सदस्य इन्द्रकला राई लगायत ठुलो सङ्ख्यामा 'जेन-जी' (Gen Z) पुस्ताका युवाहरू रहेका छन्। कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस एकताले पार्टीलाई थप ऊर्जा प्रदान गरेको र कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा नै रहेको पुष्टि भएको बताउनुभयो।
मञ्चका अध्यक्ष अर्जुन बोगटीले 'जेन-जी' विद्रोहपछि मुलुक नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेको उल्लेख गर्दै कमरेड प्रचण्ड नै वर्तमान समयको वास्तविक वैचारिक र सांगठनिक नेतृत्वकर्ता भएको दाबी गर्नुभयो। यस्तै, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं ओखलढुङ्गा इन्चार्ज सुशान्त लामाले युवाहरूको यो आकर्षणले जिल्ला र देशैभरको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
@shinenews