
ललितपुर। नेपाली कांग्रेस बागमती गाउँपालिका–५ इकुडोल इकाई कार्यसमितिको आयोजना तथा मञ्जखण्ड युवा क्लबको सहआयोजनामा सञ्चालित मास्कण्डा कप २०८३ खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय युवाहरूबीच आपसी सद्भाव, एकता र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न ६ वटा टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा पोखरीडाँडा युवा क्लब, लालीगुराँस क्लब, चिला बाघभैरव युवा क्लब, मास्कण्डा A, मास्कण्डा B र मास्कण्डा बाल क्लब गरी ६ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा समाजसेवी रविन शर्मा रहनुभएको थियो। विशेष अतिथिका रूपमा महाधिवेशन प्रतिनिधि युवराज लामा, वडा अध्यक्ष नवराज तिमल्सिना, नेपाली कांग्रेस बागमती गाउँपालिका उपसभापति छेवाङ लामा, मञ्जखण्ड युवा क्लबका सभापति सुमन तामाङ, गिम्दी इकाई सभापति श्याम लामा, माल्टा इकाई सभापति आशिष वाइबा तथा पत्रकार बाबुलाल स्याङ्तानको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रमको सभापतित्व इकुडोल इकाई सभापति कमानसिंह लामाले गर्नुभएको थियो।

समापन समारोह
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि युवराज लामा रहनुभएको थियो। विशेष अतिथिका रूपमा वडा अध्यक्ष, नेपाली कांग्रेस बागमती गाउँपालिका उपसभापति छेवाङ लामा, प्युटार इकाई सभापति श्याम लामा तथा मञ्जखण्ड युवा क्लबका सभापति सुमन तामाङको उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मास्कण्डा A ले प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी मास्कण्डा बाल क्लबले द्वितीय र मास्कण्डा B ले तृतीय स्थान हासिल गरेका छन्।

विजेता टोलीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। पुरस्कार विवरणअनुसार प्रथम हुने मास्कण्डा A टोलीले नगद रु. १० हजार, द्वितीय हुने मास्कण्डा बाल क्लबले रु. ५ हजार र तृतीय हुने मास्कण्डा B टोलीले रु. २ हजार ५०० नगदसहित प्रमाणपत्र र पदक प्राप्त गरेका छन्।

स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै युवाहरूको प्रतिभा प्रस्फुटन, आपसी भाइचारा, अनुशासन र नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता खेलकुद प्रतियोगिताले स्थानीय युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्नुका साथै खेलकुद क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण अतिथि, खेलाडी, आयोजक, सहआयोजक, सहयोगी तथा स्थानीयवासीप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
@shinenews