आरआर क्याम्पसमा 'एफएसयू विक' को भव्य समापन हुँदै: मिस्टर डीको विशेष प्रस्तुति रहने

काठमाडौं — रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा जारी 'ग्राण्ड क्रिएटिभ एफएसयू विक-२०८२' को समापन आगामी माघ ९ गते भव्य रूपमा हुने भएको छ।
स्ववियु सभापति लोकेश कुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायका अनुसार सरस्वती पूजाको विशेष अवसरमा आयोजना हुने उक्त समारोहमा साताव्यापी कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिनुका साथै नयाँ विद्यार्थीहरूलाई स्वागत गरिनेछ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा चर्चित कलाकार मिस्टर डी (Mr. D) को लाइभ प्रस्तुति रहनेछ।
क्याम्पस चौरमा बिहान ९ बजेबाट सुरु हुने यस कार्यक्रमलाई सफल पार्न सभापति खड्का र सचिव उपाध्यायले सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थितिका लागि आह्वान गर्नुभएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मक क्षमताको कदर गर्दै उनीहरूलाई थप उत्साहित बनाउने विश्वास लिइएको छ।