Updates

अदालतको फैसलाप्रति पूर्ण सम्मान, भ्रमपूर्ण सूचनाको पछि नलाग्न मेयर–उपमेयरको आग्रह

Shine news
387 views
अदालतको फैसलाप्रति पूर्ण सम्मान, भ्रमपूर्ण सूचनाको पछि नलाग्न मेयर–उपमेयरको आग्रह
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दासम्बन्धी विषयमा फैलाइँदै आएका भ्रमपूर्ण सूचना र समाचारको पछि नलाग्न नगरवासीलाई आग्रह गर्नुभएको छ।

समचारको स्रोत: बिगुल मिडिया

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दासम्बन्धी विषयमा फैलाइँदै आएका भ्रमपूर्ण सूचना र समाचारको पछि नलाग्न नगरवासीलाई आग्रह गर्नुभएको छ।


अख्तियारले दर्ता गरेको उक्त मुद्दामा २०८१ साल श्रावण ३० गते विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाइसकेको र त्यसपछि नगरपालिकामा नियमित रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आएको कुरा सर्वसाधारणमा अवगत नै रहेको मेयर–उपमेयरको भनाइ छ। उक्त मुद्दामा राजस्वको दररेट बढी उठाउनुपर्ने ठाउँमा कम उठाइएको भन्ने आरोप लगाइए पनि, वास्तविक रूपमा परिमाणबाहेक केवल निकासी कर मात्र सम्बन्धित रहेको स्पष्ट पारिएको छ।


नगरपालिकामा उत्खनन कर नलिइएको र निकासी कर भने २०५४ सालदेखि तत्कालीन जिल्ला विकास समितिले लगाउँदै आएको करलाई वार्षिक १० प्रतिशतका दरले वृद्धि गर्दै आएको तथ्य आरोपपत्रको जवाफमै उल्लेख गरिसकिएको जनाइएको छ।


मेयर महर्जन र उपमेयर अधिकारीले गणतान्त्रिक राज्य व्यवस्थाअनुसार कुनै पनि निर्वाचनमा सबै राजनीतिक दलहरू सहभागी हुन पाउने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै, जनमतका आधारमा कोही विजयी र कोही पराजित हुने स्वाभाविक प्रक्रिया भएको बताएका छन्। निर्वाचनमा विजयी भएकालाई सधैँ प्रतिशोधको दृष्टिले हेर्नु उपयुक्त नहुने उनीहरूको भनाइ छ।


उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको सन्दर्भमा, त्यसको प्रक्रिया कानुनअनुसार नै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै, दुई पटक जनताले दिएको मत कहिल्यै खेर नजाने र जनताको शिर नझुक्ने गरी आफूहरू न्यायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाइएको छ।


साथै, विपक्षी विचारधारा बोक्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि निर्वाचनलाई केन्द्रमा राखेर अत्यधिक पूर्वाग्रही नबन्न आग्रह गरिएको छ। जनता र न्यायालयको कठघरामा उभिन सधैँ तयार रहेको र दुवै तहको अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास रहेको मेयर–उपमेयरले बताएका छन् ।

SN
Author:self

Shine news

Published on December 27, 2025

More from

Related Posts