
रसुवाको स्याफ्रुबेँसी, टिमुरे तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि त्रिचन्द्र क्याम्पसको एफएसयूले राहत संकलन अभियान सुरु गरेको छ। बाढीका कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आजदेखि अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत सफा तथा प्रयोग गर्न मिल्ने कपडा, खाद्यान्न र अन्य अत्यावश्यक राहत सामग्री संकलन गरिने जनाइएको छ। संकलित सामग्री सरकारी संयन्त्रसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका परिवारसम्म पुर्याइनेछ।
एफएसयू त्रिचन्द्रले क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ। राहत सामग्री त्रिचन्द्र सहायता कक्षमा बुझाउन सकिने व्यवस्था गरिएको छ। अभियान २०८३ साल भदौ १५ र १६ गते सञ्चालन हुनेछ।
बाढीपीडित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सामूहिक प्रयास महत्वपूर्ण हुने भन्दै आयोजकले सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ। सानो सहयोगले पनि विपद्मा परेका परिवारमा ठूलो आशा जगाउन सक्ने भएकाले अभियानमा एकजुट हुन आह्वान गरिएको छ।