Updates

बागमती गाउँपालिका वडा नं. २ को ऐतिहासिक पहल: कोरियन भाषा सिक्ने विद्यार्थीलाई ५०% अनुदान

Shine news
253 views
बागमती गाउँपालिका वडा नं. २ को ऐतिहासिक पहल: कोरियन भाषा सिक्ने विद्यार्थीलाई ५०% अनुदान
ललितपुरको बागमती गाउँपालिका वडा नं. २ (माल्टा) ले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि एक महत्वपूर्ण र सकारात्मक निर्णय गरेको छ। वडाले हालै सञ्चालनमा आएको 'सेजौ भाषा तथा ट्युसन केन्द्र' मार्फत कोरियन भाषा अध्ययन गर्ने विपन्न तथा इच्छुक विद्यार्थीहरूलाई शिक्षण शुल्कमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ।

बागमती (ललितपुर), पुस १

​केन्द्रको समुद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्षले दक्ष जनशक्ति उत्पादनलाई वडाको प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, "राज्यले पर्याप्त उद्योग र रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू विदेश पलायन हुनु बाध्यता बनेको छ। तर, विदेश जाँदा पनि विना सिप र भाषा नलिई जाँदा जोखिम बढ्छ। त्यसैले, हामीले युवाहरूलाई दक्ष बनाएर मात्र पठाउने नीति लिएका छौँ।"

​वडाले यसअघि पनि कम्प्युटर शिक्षा र ड्राइभिङ तालिममा यस्तै प्रकारको अनुदान उपलब्ध गराउँदै आएको थियो। आगामी हिउँदे अधिवेशनमार्फत बजेट विनियोजन गरी कोरियन भाषा सिक्न चाहने विद्यार्थीहरूको आधा शुल्क वडा कार्यालयले बेहोर्ने प्रतिबद्धता जनाइएको छ। १० हजार शुल्क लाग्ने भए ५ हजार र २० हजार लाग्ने भए १० हजार वडाले अनुदान स्वरूप उपलब्ध गराउने मोडल तयार पारिएको छ।

​उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी 'निशान' को पनि उपस्थिति रहेको थियो। तालिम केन्द्रका सञ्चालक रामबहादुर थिङ र प्रशिक्षक प्रकाश नेपाल, जो स्वयं कोरियामा लामो समयको अनुभव बटुलेर फर्किएका हुन्, उनीहरूले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिने विश्वास दिलाएका छन्। यो पहलले बागमती गाउँपालिकाभरिका युवाहरूको उज्ज्वल भविष्य र आर्थिक सबलीकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

SN
Author:self

Shine news

Published on December 17, 2025

More from

Related Posts