
हेटौँडा, ४ भदौ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) का किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटामुखबाट संविधानको धारा १६८ (२) बमोजिम पद तथा गोपनीयताको शपथ लिँदै उहाँले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुभएको हो। एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संयुक्त समर्थनमा बनेको यस नयाँ सत्ता समीकरणसँगै प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ।

नवगठित मन्त्रिपरिषद्मा भरत केसीले भौतिक पूर्वाधार विकास, ज्ञानबहादुर तामाङले बिनाविभागीय, सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ, राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात र गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ।

नवनियुक्त मुख्यमन्त्री थापा मगरले प्रदेशको समृद्धि, पारदर्शी शासन र विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नवनियुक्त सम्पूर्ण मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
@shinenews