
काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १६ सय ५५ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बुधबार बेलुकासम्म प्रभावित क्षेत्रहरूबाट १६ सय ५५ जनाको मृतदेह संकलन गरिएको हो।
बाढीका कारण अझै चार हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् भने सुरक्षा निकायको टोलीले करिब १२ हजार जनाको सकुशल उद्धार गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राहत, उद्धार र बेपत्ताहरूको खोजीलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ। सुरक्षाकर्मीहरूले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो खसेका क्षेत्रमा निरन्तर खोजतलास गरिरहेका छन्।
उद्धार गरिएका र फेला परेका शवमध्ये केहीको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको छ। पहिचान हुन नसकेका शवहरूलाई भने विधि र प्रक्रिया पुर्याएर सुरक्षित रूपमा जमिनमा गाडिएको छ।
@shinenews