बजेट रोक्नेलाई कफीको माला

ललितपुर। ललितपुरको विकट गोटिखेल पुगेका निवर्तमान सञ्चार मन्त्री जगदीश खरेल र क्षेत्र नं. १ का उम्मेदवार बुद्ध रत्न महर्जनलाई स्थानीयले कफीको माला पहिर्याएर अनौठो स्वागत गरेका छन्। यो कफीको माला उनीहरूका लागि स्वागतको उपहार मात्र थिएन, बरु सत्तामा हुँदा विकास रोक्ने र बाहिरिएपछि आदर्श छाँट्ने प्रवृत्ति विरुद्ध स्थानीयको मनमा उठेको गहिरो प्रश्न र मौन विद्रोह थियो।
"ललितपुर दुर्गम होइन, दुर्गम पारिएको हो" भन्दै भाषण गरिरहँदा नेताहरूको गलामा झुण्डिएको कफीको मालाले गाउँको वास्तविक पीडा बोलिरहेको थियो। लेले–चन्दनपुर–ठुलादुर्लुङ वैकल्पिक राजमार्गका लागि विनियोजन गरिएको २५ करोड बजेट काट्ने निर्णयमा साक्षी बसेका नेताहरूले आज उही बाटो हिँडेर "विकास भएन" भन्नुलाई स्थानीयले लज्जास्पद मानेका छन्।
स्थानीयको सन्देश प्रस्ट छ— अब गोटिखेललाई भाषण सुन्ने सोख छैन, खोसिएको बजेट र रोकिएको समृद्धिको जवाफ चाहिएको छ।