गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

काठमाडौँ — नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी मैदानमा होमिने निर्णय गरेको छ। शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु रहेको छ।
विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि कांग्रेसले यो रणनीतिक कदम चालेको हो। प्रवक्ता देवराज चालिसेका अनुसार सुशासन र युवा नेतृत्वको चाहनालाई सम्बोधन गर्न थापालाई अघि सारिएको हो।
यसपटकको निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। थापाले यसपटक सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका छन्, जहाँ ‘अबके बाद, गगन सरकार’ भन्ने नाराका साथ चुनावी प्रचार तीव्र पारिएको छ। त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थापा तीन दशकको संघर्षपछि प्रधानमन्त्रीको दौडमा पुगेका हुन्।