
ललितपुर — गोदावरी नगरपालिका–५ ले बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन अभियान सञ्चालन गर्ने भएको छ।
गोदावरी नगरपालिका–५ को विपद् व्यवस्थापन समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित बैठकले रसुवालगायत विभिन्न जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै राहत सहयोग गर्ने निर्णय गरेको हो।
प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको र नागरिकहरूलाई लत्ताकपडा, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै राहत संकलन गर्न लागिएको जनाइएको छ।
वडा कार्यालयले स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, संघ–संस्था तथा सहयोगी मनहरूलाई चामल, दाल, नुन, तेल, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री सहयोग गर्न अपिल गरेको छ।

राहत सामग्री संकलन कार्यक्रम भदौ १६ गते बिहान ७ बजेदेखि भदौ १८ गतेसम्म वडा कार्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ। संकलित सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाई वितरण गरिने जनाइएको छ।
गोदावरी नगरपालिका–५ का वडा अध्यक्ष मिलन सिलवालले उक्त जानकारी दिँदै विपद्मा परेका नागरिकको दुःखमा साथ दिन सबैलाई आफ्नो क्षमता र गच्छेअनुसार सहयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्न सक्छ।
राहत अभियानमा सहभागी हुन वडा कार्यालयले सबै स्थानीयवासी तथा संघ–संस्थालाई आह्वान गरेको छ।