
जाजरकोट — समाजसेवी तारा शर्मा लगायतको युवा समूहले जाजरकोटका विभिन्न स्थानीय स्वास्थ्य चौकीमा प्रयोग हुने स्वास्थ्य सामग्रीहरू भेरी नगरपालिका, जाजरकोटलाई हस्तान्तरण गरेको छ।
समाजसेवी तारा शर्माका अनुसार समूहले विशेषगरी सुत्केरी महिला, बालबालिका तथा दन्त स्वास्थ्यलाई लक्षित गरी करिब रु. ५ लाख बराबरका १५ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। आवश्यकताका आधारमा उक्त सामग्रीहरू जाजरकोटका विभिन्न स्वास्थ्य संस्थामार्फत सेवाग्राहीलाई उपलब्ध गराइने बताइएको छ।

ग्रामीण तथा स्थानीय तहका स्वास्थ्य संस्थामा आवश्यक सामग्रीको अभावका कारण सर्वसाधारणले भोग्दै आएको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शर्माले बताइन्।
यसै समूहले ‘हाम्रो दरबार कहिले बन्छ?’ भन्ने अभियानसमेत काठमाडौंमा सञ्चालन गर्दै आएको छ। अभियानमार्फत सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा युवाहरूलाई सक्रिय बनाउने र आवश्यक सहयोग तथा जनचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको समाजसेवी शर्माले जानकारी दिइन्।
