
सुर्खेत । कर्णाली प्रदेश उसु संघका अध्यक्ष गोविन्दबहादुर शाही निर्वाचित भएसँगै कर्णाली प्रदेशमा उसु खेलको गतिविधि थप तीव्र बन्दै गएको छ। प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूलाई सुर्खेत रंगशालास्थित उसुको मिनी कभर्ड हलमा नियमित प्रशिक्षण गराउँदै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ।

कर्णाली प्रदेशका ८ जिल्लाका खेलाडीहरू हाल सुर्खेतमा रहेर बिहान–बेलुका नियमित प्रशिक्षण गरिरहेका छन्। राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै खेलाडीहरूको शारीरिक क्षमता, प्राविधिक दक्षता तथा प्रतिस्पर्धात्मक तयारीमा विशेष ध्यान दिइएको संघले जनाएको छ।

खेलाडीहरूको प्रशिक्षणसँगै उनीहरूको पोषण तथा डाइटको व्यवस्थापनसमेत कर्णाली प्रदेश उसु संघले आफ्नै पहलमा गरिरहेको छ।
कर्णाली प्रदेश उसु संघका अध्यक्ष गोविन्दबहादुर शाहीले ९औँ राष्ट्रिय खेलकुदमा प्राप्त नतिजालाई दोब्बर बनाउने लक्ष्यसहित संघ अगाडि बढिरहेको बताए।
अध्यक्ष शाहीले आफ्नो कार्यकालमा कर्णाली प्रदेशका १० वटै जिल्लामा उसु खेललाई स्थापित गर्ने लक्ष्य रहेको बताए। प्रत्येक जिल्लामा जिल्ला उसु संघ गठन तथा कार्यालय सञ्चालनका साथै आवश्यक प्रशिक्षण हल निर्माण गर्ने योजना रहेको उनको भनाइ छ।

कर्णालीका सबै जिल्लामा उसु खेलको पहुँच विस्तार गर्दै नयाँ प्रतिभाको पहिचान र उत्पादन गर्ने योजनासहित संघले आगामी दिनमा प्रशिक्षण तथा प्रतियोगितात्मक गतिविधिलाई थप व्यापक बनाउने जनाएको छ।
१०औँ राष्ट्रिय खेलकुदलाई लक्ष्य बनाएर भइरहेको निरन्तर प्रशिक्षणले कर्णालीको उसु खेलमा नयाँ उत्साह थपिएको छ।
@ShineENews