Updates

कतारमा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार भव्य रूपमा मनाइँदै

प्युटार खबर
269 views
कतारमा मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार भव्य रूपमा मनाइँदै
तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज, कतार ले तामाङ समुदायको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (ता ल्हो–घोडा वर्ग) भव्य रूपमा मनाउने भएको छ।

दोहा, कतार ।“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज, कतार ले तामाङ समुदायको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार (ता ल्हो–घोडा वर्ग) भव्य रूपमा मनाउने भएको छ।


“तामाङ संस्कार र संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौँ, सोनाम ल्होछार घर–घरमा उल्लासपूर्वक मनाऔँ” भन्ने नारासहित आयोजना हुन लागेको मञ्जुश्री संवत् २८६२ सोनाम ल्होछार शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी २३ जनवरी २०२६ (शुक्रबार) का दिन अल दोसरी, जु–सहानिया मा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

कार्यक्रममा तामाङ संस्कार र संस्कृति झल्काउने मौलिक सेलो नृत्य तथा गीत–संगीत, परम्परागत डम्फु र म्हेन्दोमाया नृत्य, साथै वि.सं. १८५४ देखि १८५६ सम्मको नेपाल–तिब्बत युद्धलाई स्मरण गराउने घोडा नाच प्रस्तुत गरिनेछ। त्यस्तै, विशिष्ट अतिथिहरूबाट शुभकामना मन्तव्य, समुदायबीच आपसी भेटघाट, एकता र सद्भाव आदान–प्रदानको अवसर समेत रहने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली तथा मौलिक तामाङ परिकारको समेत व्यवस्था गरिनेछ।

कार्यक्रमबारे जानकारी दिँदै २८६२ सोनाम ल्होछार मूल समारोह समितिका सूचना तथा प्रचार–प्रसार संयोजक मिलन स्याङ्तान तामाङ ले सोनाम ल्होछार पर्व तामाङ जातिको पहिचान, संस्कार र सांस्कृतिक एकताको प्रतीक भएकाले कतारमा रहेका सम्पूर्ण नेपाली तथा तामाङ समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल बनाउने विश्वास व्यक्त गर्नुभयो।


उक्त अवसरमा कतारवासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, तामाङ ज्यो–ज्यो तथा आले–नानाआङाहरूलाई गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा गरेको छ।

थप जानकारीका लागि ५०४५९७७९, ६६१७३८३१, ३०९६१५३० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

पख
Author:self

प्युटार खबर

Published on January 8, 2026

More from

Related Posts