ललितपुर कांग्रेसमा विवाद: सभापतिको विज्ञप्तिलाई प्रवक्ताले भने ‘अवैधानिक’

ललितपुर, २४ पुस ।
नेपाली कांग्रेस ललितपुरभित्रको आन्तरिक विवाद सतहमा आएको छ। जिल्ला कार्यसमिति ललितपुरका प्रवक्ता सन्तोष राज केसीले एक विज्ञप्ति जारी गर्दै जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले यसअघि जारी गरेको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
प्रवक्ता केसीद्वारा जारी ध्यानाकर्षण पत्रमा सभापति श्रेष्ठले जिल्ला कार्यसमितिको बैठक र पदाधिकारीसँग कुनै छलफल नै नगरी एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाइएको छ। "जिल्ला कार्यालयको नाममा सभापतिको व्यक्तिगत निर्णयबाट जारी गरिएको उक्त विज्ञप्ति अवैधानिक छ," केसीले उल्लेख गर्नुभएको छ।
केन्द्रीय कार्य सम्पादन समितिले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा, अन्य कुनै पनि भ्रमपूर्ण हल्लाको पछि नलाग्न प्रवक्ताले पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ।
विज्ञप्तिमा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सक्रिय हुन र केन्द्रले तोकेको महाधिवेशनलाई सफल पार्न सम्पूर्ण महासमिति, महाधिवेशन प्रतिनिधि र भ्रातृ संस्थाहरूलाई आह्वान गरिएको छ। जिल्ला नेतृत्वबीचको यो मतभेदले स्थानीयस्तरमा कार्यकर्ताहरूमाझ अन्योल सिर्जना गरेको छ।
Shine news
Published on January 9, 2026