महिला टी-२० विश्वकप छनोट: नेपाल २ रनले पराजित

काठमाडौँ: आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग मात्र २ रनको झिनो अन्तरले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक भएकोमा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके। नेपालका लागि रुबिनाले अविजित ३७ र सीताले अविजित २७ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यसअघि नेपाल थाइल्यान्डसँग पनि पराजित भएको थियो।