
नेपालगञ्ज, ११ पुस (२०८२) ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालगञ्ज स्टेशनलाई आधार बनाएर पश्चिम नेपालका विभिन्न दुर्गम पहाडी तथा हिमाली जिल्लाहरूका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ। निगमले यात्रुहरूको सुविधा र सहजतालाई मध्यनजर गर्दै साताको पाँच दिन विभिन्न गन्तव्यहरूमा उडान भर्ने गरी तालिका ल्याएको हो।
नयाँ तालिका अनुसार निगमले आइतबार, सोमबार, मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। यसले सडक मार्गको लामो र झन्झटिलो यात्रा गर्न बाध्य यात्रुहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
निगमले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वर्गका नागरिकहरूका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ:
१. ज्येष्ठ नागरिक: ५० प्रतिशत छुट।
२. विशेष क्षमता भएका नागरिक (क र ख वर्ग): ५० प्रतिशत छुट।
३. बालबालिका (१२ वर्ष मुनिका) र विद्यार्थी: २५ प्रतिशत छुट।
यात्रुहरूले आफ्नो सिट सुरक्षित गर्न निगमको आधिकारिक वेबसाइट www.nepalairlines.com.np वा ई-सेवा (eSewa) को 'Popular Service' भित्र रहेको नेपाल एयरलाइन्स डोमेस्टिक एपमार्फत अनलाइन टिकट काट्न सक्नेछन्। साथै, नेपालगञ्जको धम्बोझीस्थित सेल्स अफिस र नेपालगञ्ज विमानस्थल कार्यालयबाट पनि टिकट लिन सकिने निगमले जनाएको छ।
थप जानकारीका लागि यात्रुहरूले निगमको सम्पर्क नम्बरहरू ९८५८०४१५०६, ०८१-५६५०५७, ०८१-४१५१७९, र ०८१-४१५०६७ मा सम्पर्क गर्न सक्नेछन्।
@shinenews