नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक अन्योलप्रति युवापंक्तिको चासो र पार्टी एकताको पक्षमा रहेको स्पष्ट सन्देश |

चिसो मौसमका बाबजुद भक्तपुरको सल्लाघारी क्षेत्र एकाएक तातेको छ। नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति तथा निवर्तमान माननीय दुर्लभ थापाको निवास अगाडि ३०० भन्दा बढी युवाहरू स्वस्फूर्त रूपमा भेला भएका छन्।
भेलामा सहभागी युवाहरूले स्पष्ट रूपमा यो जमघट कांग्रेसको नेतृत्वलाई गाली गर्न नभई पार्टीलाई अझ सुदृढ, एकताबद्ध र सशक्त बनाउन आग्रह गर्न गरिएको बताएका छन्। युवाहरूले कांग्रेस फुटबाट जोगिन तत्काल पहल र स्पष्ट निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै जिल्ला सभापति थापासँग प्रश्नसमेत गरेका थिए।
भेलालाई सम्बोधन गर्दै सभापति दुर्लभ थापाले सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले युवाहरूको भावना र चिन्ताको कदर गर्दै केही अवाञ्छित तत्वहरूले कांग्रेसलाई कमजोर पार्ने प्रयास गरे पनि त्यसलाई सफल हुन नदिइने स्पष्ट पारे।
“कांग्रेसलाई फुटाउन खोज्ने प्रयास भइरहेको छ, तर हामी सबै मिलेर त्यो हुन दिने छैनौँ,” थापाले भने।
उनले जिल्ला सभापतिहरूको भेलामा उठेका महत्वपूर्ण विषयहरू पार्टी सभापतिसँग छलफल गरिने जानकारी पनि दिए। थापाका अनुसार नेपाली कांग्रेस एकताबद्ध भएर आगामी निर्वाचनमा सहभागी हुन्छ र निर्धारित समयमा महाधिवेशनसमेत सम्पन्न हुन्छ।
उनले नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै विधानअनुसार वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापति बन्न नसक्ने स्पष्ट पारे।
“नेतृत्व अवश्य परिवर्तन हुन्छ। तर यस्ता बखेडा झिकेर कांग्रेसलाई कमजोर पार्ने काम नगरौँ,” थापाले युवाहरूलाई आग्रह गरे।
इतिहास स्मरण गर्दै उनले भने, “जब–जब कांग्रेस कमजोर भएको छ, तब देश संकटमा परेको छ। शेरबहादुर देउवा दाइले आवश्यक बेला बोल्ड निर्णय लिनुहुन्छ।”
भेलाले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक अन्योलप्रति युवापंक्तिको चासो र पार्टी एकताको पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ।
Shine news
Published on January 10, 2026