
काठमाडौं, १८ पुस २०८२ — नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले युगेश्वर कायस्थलाई बागमती प्रदेश समितिको अध्यक्ष पदमा मनोनित गरेको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी पत्रअनुसार, संघको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम काभ्रेपलाञ्चोक निवासी कायस्थलाई यस जिम्मेवारीको पत्र हस्तान्तरण गरिएको हो। मनोनयन पत्रमा कायस्थले संगठनको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष शेर्पाले नवनियुक्त अध्यक्ष कायस्थको सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने आशा राखेका छन्। उक्त मनोनयनको बोधार्थ जानकारीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपालाई समेत पठाइएको छ।