नेविसंघ नेताहरू पार्टी कार्यालयको सुरक्षार्थ सानेपामा तैनाथ

काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरू सुरक्षाका लागि मैदानमा उत्रिएका छन्। पार्टी कार्यालयमा हुन सक्ने सम्भावित मुठभेड वा अराजक गतिविधि रोक्न नेविसंघका केन्द्रीय सदस्य गणेशमान शाह र थुमराज उपाध्याय लगायतका नेताहरू अग्रपंक्तिमा खटिएका हुन्।
पार्टीभित्रको आन्तरिक विवाद र विभिन्न समूहबीचको खिचातानीका कारण कार्यालय परिसरमा तनावपूर्ण वातावरण सिर्जना भएपछि नेविसंघका नेता-कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा सुरक्षामा खटिएका हुन्।
यस क्रममा नेता गणेशमान शाहले पार्टीको सम्पत्ति र मर्यादा जोगाउनु विद्यार्थी संगठनको दायित्व भएको बताउनुभयो। त्यस्तै, उपाध्यक्ष थुमराजले पार्टी कार्यालयलाई सुरक्षित र व्यवस्थित राख्न आफूहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेको उल्लेख गर्नुभयो। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै पार्टी कार्यालय वरपर ठूलो संख्यामा विद्यार्थी नेताहरूको उपस्थिति रहेको छ।