नियमित महाधिवेशनको पक्षमा भक्तपुर कांग्रेस

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर ले जिल्ला पार्टी कार्यालय सल्लाघारीमा पत्रकार सम्मेलनको आयोजना गर्यो।
उक्त पत्रकार सम्मेलनमा जिल्ला सभापति दुर्लभ थापा, जिल्ला पदाधिकारी, पूर्व सभापति गणेशमान चक्रधर, पूर्व मन्त्री कृष्णलाल भडेल ,तरुण दलका केन्द्रीय पूर्व अध्यक्ष विनोद प्रकाश कायस्थ, वरिष्ठ अधिवक्ता एवम् नेता बाबुराजा जोशी, नेता संतोष भट्टराई, चागुनारायण र मध्यपुर थिमिका मेयर लगायत जिल्ला स्थित उच्च नेताहरु सहभागी थिए ।
भक्तपुरस्थित महासमिति तथा महाधिवेशन प्रतिनिधि नेताहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नियमित महाधिवेशनका पक्षमा निकालिएको
प्रेस विज्ञप्ति :
नेपाली काँग्रेसले क्रान्तिको गौरवमय इतिहास बोक्नुका साथै देशको प्रत्येक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सर्वविदितै छ। भाद्र २३ र २४ गते पछि राष्ट्रमा विकसित राजनीतिक घटनाक्रमका बारेमा हामी सबै जानकार छौँ। नेपाली काँग्रेस संविधान सभाद्वारा निर्मित संविधानको संवैधानिक सर्वोच्चताको पक्षपाती रहेको छ। हाल विभिन्न देशी विदेशी शक्तिहरूबाट संविधानको संवैधानिक सर्वोच्चता समाप्त गर्न प्रयासरत रहेको अवस्था छ यो विषम परिस्थितिमा हामी कसैको पनि गतिविधि यस्ता पक्षहरूलाई पृष्ठपोषण गर्ने खालको हुनु हुँदैन ।
देश नै गम्भीर मोडमा उभिएको बेला नेपाली काँग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखि केन्द्रीय नेतृत्वसम्ममा नेतृत्व स्थापित गर्नु आजको आवश्यकता हो । देश निर्वाचनको तयारीमा छ। राजनीतिक दलहरूले समानुपातिकतर्फ आफ्ना बन्द सूचीहरू निर्वाचन आयोगमा बुझाइसकेको अवस्था छ।
सन्निकट निर्वाचनमा सहभागी हुनुपर्ने आजको आवश्यकता हो । तसर्थ, पार्टीभित्रका सबै खाले मत र विचार एकीकृत गरी पार्टीको नियमित महाधिवेशन गरी नेतृत्व स्थापित गर्न हामी भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका महाधिवेशन र महासमिति सदस्यहरू सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दै नेपाली काँग्रेसको विधान २०१७ (संशोधन र परिमार्जन सहित) मा व्यवस्था भए अनुसार केन्द्रीय कार्यसम्पादन समितिले तोकेको मितिमा नियमित महाधिवेशन गर्न जोडदार माग गर्दछौँ । जय नेपाल ।