प्रधानमन्त्रीसँग कुलमानको बार्गेनिङ, भने-म हट्नु परे मेरै मान्छे मन्त्री बन्नुपर्छ

साईन न्युज
मंगलबार, पुस २२, २०८२
सोमबार बिहान ११ः ३० मा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्यो । सदाझैँ नियमित बैठक विषय रहे पनि योपटक प्रधानमन्त्री सुशीला कार्की फरक मुडमा थिइन् । उनी दलीय रूपमा सक्रियता देखाइरहेका मन्त्रीहरूसँग रुष्ट थिइन् । उनी रुष्ट हुने कारण एउटै थियो, नागरिक सरकार भनेर गठन भएको सरकारमा दलमा आबद्ध भएका व्यक्ति अझै सरकारमा बसिरहनु । उनी आफैँले भन्ने मुडमा थिइनन् । तर, जबजब चुनावकाे मिति नजिकिँदै गयो, केही मन्त्रीहरू सरकारका काममा भन्दा चुनावमा बढी ध्यान दिन थालेपछि सोमबार मुखै फोरेर सरकार छाड्न भनिन् । ' तपाईँहरूले राम्रो काम गर्नुभयो । गुमाउन मन त थिएन नि के गर्नु,' उनले थपिन् 'नागरिक सरकारको स्वस्थता कायम गर्नुपर्ने भएकोले आफ्नो बारेमा निर्णय लिनुहोला ।'
प्रधानमन्त्री कार्कीले मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालक्षित धारणा राखेपछि उनलाई सघाउ गर्दै केही मन्त्रीहरूले आफ्नो धारणा राखे । कुनै दलमा सहभागी नहुने, चुनाव नलड्ने र यही सरकारलाई सहयोग गर्ने मनसुवा राख्ने मन्त्रीहरूले प्रधानमन्त्रीको भनाइमा हो मा हो मिलाएपछि कुलमान जङ्गिए ।
उनले कार्कीको भनाइलक्षित जवाफ दिँदै भने, 'मैले राजीनामा दिने हो भने म रहेको मन्त्रालयमा मेरै मान्छे मन्त्री बन्नुपर्छ ।'
कुलमान यसरी जङ्गिदा केहीबेर क्याबिनेटमा पक्ष विपक्षमा चर्काचर्कीसमेत भएको सहभागी एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्की अन्य बैठकमा भन्दा सोमबारको बैठकमा आक्राम्क रूपमा प्रस्तुत भएकी थिइन् । उनले कुलमानबारे मात्रै होइन, सञ्चारमन्त्री खरेल र खेलकुदमन्त्री गुप्तालाई पनि प्रष्टसँग मार्गप्रशस्त गर्न भनेकी थिइन् ।
‘यो कुनै चिया चमेनामा भनेको कुरा होइन । प्रस्टसँग औपचारिक मन्त्रिपरिषद् बैठकमा भनिएको कुरा हो नि,’ ती मन्त्रिपरिषद् सदस्यले भने, ‘प्रधानमन्त्रीले मुखै खोलेर भनेको २४ घण्टा बितिसक्दा पनि उहाँहरूबाट राजीनामा आएको छैन ।’
दलीय राजनीतिमा सक्रिय भएका मन्त्रीलाई यसअघि देखि नै प्रधानमन्त्रीले आफैँ जानेर मार्गप्रशस्त गरुन् भन्ने चाहेकी थिइन् । तर, मन्त्रालयमा बसिरहेका कारण सोमबार मुखै खोलेर भन्नुपरेको ती सदस्यले जानकारी दिए । उनले भने ‘कुलमानजीले यसरी गैरव्यवसायीकरण सौदावाजी गर्नुहोला भनेर हामीले सोचेकै थिएनौँ । उहाँको त्यो भनाइप्रति हामी दलीय राजनीतिमा नजाने सोच बनाएकाहरू पनि कड्कियौँ ।’
पार्टी खोल्नुअघि प्रधानमन्त्रीलाई सोधेका थिए कुलमानले
कुलमान घिसिङले पार्टी खोल्ने चर्चा चल्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग गएर सोधेको स्रोतको भनाइ छ । उनले त्यो बेला कार्कीलाई आफू दलीय राजनीतिमा जान लागेको र दलसमेत खोलेरै अघि बढ्ने योजना रहेको सुनाएका थिए ।
त्यो बेला कार्कीले अहिले तत्काल राजीनामा नदिन भनेकी थिइन् । उनले घिसिङप्रति विश्वास व्यक्त गर्दै भनेकी थिइन्, ‘कुलमान भाइ, तिमीबाट राम्रो कामको अपेक्षा गरेको छु । हामी त अवधि नै तोकेर आएका छौँ । यो छोटो समयमा आज एउटा, भोलि अर्को मान्छे खोज्न कहाँ जाउँ ? अहिले नछोड ।’
तर, यो बीचमा कुलमानले उज्यालो नेपाल पार्टी खोले । उनी अध्यक्ष त भएनन्, तर संरक्षक रहे । यद्यपि उनको गतिविधि सरकारभन्दा पार्टीकेन्द्रित बढी हुन थालेको प्रधानमन्त्रीको बुझाइ भएपछि राजीनामा दिन दबाब बढाउँदै जान थालिन् ।
कुलमानले प्रधानमन्त्रीको दबाब बुझे पनि राजीनामा नदिई मन्त्री पदमै बसिरहे । धेरै पटकका अनौपचारिक सेसनमा मन्त्रीहरू माझ प्रधानमन्त्रीले भन्थिन्, ‘ए, कुलमानले अझै राजीनामा दिएको छैन ?’
जब कुलमानको ध्यान सरुवा बढुवामा जान थाल्यो..
कुलमान घिसिङले अहिले भौतिक पूर्वाधार, सहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारीमा छन्। यी मन्त्रालयको बजेट झन्डै ४ खर्ब हाराहारीका छन् । उनी राजनीतिमा सक्रिय हुनु बित्तिकै कर्मचारीको सरुवा बढुवामा अशोभाविक चासो बढ्न थालेको ती मन्त्रीको दाबी छ । यसबारे सुरुमा प्रधानमन्त्री कार्यालयमा समेत आएका केही गुनासालाई कार्कीले बेवास्ता गर्थिन् । तर, गुनासो बढ्दै जान थालेपछि उनी सशङ्कित बन्न थालिन् र मन्त्रीलाई सोध्ने गरेकी थिइन् । पछि सचिवहरूमार्फत नै कुरा पुग्न थालेपछि प्रधानमन्त्री कार्कीले केही महत्त्वपूर्ण निर्णयका फाइलहरू अड्काइ दिइन् ।
ती मन्त्रीका अनुसार केही विषयगत निर्णयका फाइलहरू क्याबिनेटमा पुगेपछि घिसिङले नेतृत्व गरेका मन्त्रालयका फाइलहरू मिहिन रूपमा हेर्न थालियो ।
‘यति सम्मकि उहाँले आफ्नो मन्त्रालय मात्रै होइन, अरूले नेतृत्व गरेका मन्त्रालयका नीतिगत कुरामा पनि चासो राख्न थाल्नुभयो ।
साईन न्युज
Published on January 7, 2026