पूर्व मन्त्री बस्नेतद्वारा बाह्रबिसेमा ५०० भन्दा बढी नवप्रवेशीलाई स्वागत


✒️प्रमोद तामाङ
बाह्रबिसे, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित एक विशाल आमसभामा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी ५०० भन्दा बढी कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस क्षेत्र नं १ कार्यसमितिको आयोजनामा शुक्रबार खुर्सानीबारी फुटबल मैदानमा सम्पन्न उक्त ऐतिहासिक सभामा नवप्रवेशीहरूको ठूलो लहर देखिएको हो।
क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतले नवप्रवेशीहरूलाई खादा र माला लगाएर पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो। ५ हजार भन्दा बढीको जनसागर उपस्थित रहेको उक्त कार्यक्रममा कम्युनिष्ट पार्टीका स्थानीय स्तरका प्रभावशाली नेताहरू समेत कांग्रेसमा समाहित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले कम्युनिष्टहरूको झुटा आश्वासन र आन्तरिक कलहबाट जनता मुक्त हुन चाहेको बताउनुभयो। उहाँले यति ठूलो संख्यामा भएको पार्टी प्रवेशले सिन्धुपाल्चोकमा कांग्रेसको शक्ति अजेय बनेको उद्घोष गर्नुका साथै नवप्रवेशीहरूलाई पार्टीमा विना भेदभाव उचित जिम्मेवारी र सम्मान दिइने विश्वास दिलाउनुभयो।
कार्यक्रममा अतिथिहरू डा. प्रेमध्वज लामा, दोर्जे लामा, भोला बोहोरा, यस्मिन ढुंगाना र वेद बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। त्यस्तै, बागमती प्रदेश महाधिवेशन प्रतिनिधिहरू, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू, र नेपाल तरुण दल, नेविसंघ, महिला संघ लगायतका भातृ संगठनका कार्यकर्ताहरूको बाक्लो उपस्थितिले बाह्रबिसे क्षेत्र गुञ्जायमान बनेको थियो। यो विशाल पार्टी प्रवेश कार्यक्रमले स्थानीय राजनीतिमा नयाँ समीकरण पैदा गरेको विश्लेषण गरिएको छ।
निर्वाचनको मिति घोषणापश्चात देशमै पहिलो पटक बाह्रबिसेमा विशाल आमसभा आयोजना गरिएको छ। नेपाली कांग्रेस क्षेत्र नं १ द्वारा आयोजित यस सभाले चुनावी उत्साह बढाउँदै पार्टीको बलियो उपस्थितिलाई प्रष्ट पारेको छ।
@shinenews