रास्वपा ललितपुर महानगरको प्रथम नगर अधिवेशन सम्पन्न: ललित महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति

ललितपुर, २६ पुस २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुर महानगरपालिकाको ऐतिहासिक प्रथम नगर अधिवेशन आज वडा नं. ५, थसिखेलस्थित महालक्ष्मी पार्टी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ। बिहान ११ बजे सुरु भएको उक्त कार्यक्रमको उद्घाटन रास्वपाका उप-सभापति एवं पूर्वमन्त्री डिपि अर्यालले औपचारिक रूपमा घन्टी बजाएर गर्नुभएको थियो।
अधिवेशनमा पार्टीका प्रभावशाली नेताहरू विराज भक्त श्रेष्ठ र डा. तोसिमा कार्कीको विशेष उपस्थिति रहेको थियो। नेताहरूले सम्बोधनका क्रममा वैकल्पिक राजनीतिको आवश्यकता र सुशासनका लागि रास्वपाको भूमिकाबारे चर्चा गर्नुभएको थियो। कार्यक्रमको एक मुख्य आकर्षण ठुलो संख्यामा भएको पार्टी प्रवेश थियो। नयाँ प्रवेशीहरूलाई नेताहरूले रास्वपाको ब्याज लगाई र हात मिलाएर न्यानो स्वागत गर्नुभएको थियो। परम्परागत खादा-माला भन्दा फरक र सभ्य तरिकाले गरिएको यो स्वागतले उपस्थित जनमानसको ध्यान खिचेको थियो।
नयाँ कार्यसमिति चयन:
बन्द सत्रले आगामी कार्यकालका लागि ललित महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। कार्यसमितिको अन्य पदहरूमा निम्न पदाधिकारीहरू चयन हुनुभएको छ:
उपसभापति: सफला ढुङ्गाना
सचिव: ज्योति बिष्ट
सहसचिव: सन्जु अवाले
कोषाध्यक्ष: हसना महर्जन
यसका साथै, अधिवेशनले संगठनलाई थप चलायमान बनाउन १९ जना महानगरपालिका प्रतिनिधि, ४ जना जिल्ला अधिवेशन प्रतिनिधि, ४ जना प्रदेश अधिवेशन प्रतिनिधि र ४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू पनि चयन गरेको छ।
Shine news
Published on January 10, 2026